Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

झापा, २२ चैत २०८१ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल संखुवासभामा ‘सीटी स्क्यान मेसिन’ खरिद प्रक्रिया रोक्न पत्राचार गरेका छन् ।

प्रदेश सरकारले सीटी स्क्यान मेसिन खरिदका लागि यो वर्ष ७ करोड छुट्याएको थियो। गत आर्थिक वर्षमा पनि ३ करोड रुपैयाँ ‘मेसिन’ खरिद गर्न अपुग भएकाले ‘फ्रिज’ भएको थियो । जिल्ला अस्पतालमा संखुवासभा सहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बिरामी उपचारका लागि आउँछन् । सामान्य दुर्घटना भएका बिरामी सीटी स्क्यानका लागि धेरै रकम खर्चेर सुविधा सम्पन्न अस्पतालमा ‘रेफर’ गर्नुपर्ने अवस्था छ ।

प्रदेशका स्वास्थमन्त्री राईको चैत १७ को मन्त्रीस्तरीय निर्णयले सीटी स्क्यान मेसिन खरिद कार्यक्रम कार्यान्वयन नगर्नु भनेर अस्पताललाई पत्राचार गरेको छ । मेसिन खरिद कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले पत्र मार्फत जानकारी गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए।
’मन्त्रालयले एकलौटी निर्णय गरी कार्यक्रम नै रोक्ने निर्णय गरेको छ,’ उनले भने, ’राजेन्द्र कार्की स्वास्थ्यमन्त्री भएको बेला दुर्गम हिमाली जिल्लामा मेसिन खरिदका लागि बजेट विनियोजन भएको थियो।’ बजेट विनियोजन भइसकेको ‘सीटी स्क्यान मेसिन खरिद’ कार्यक्रम कार्यन्वयन गराउन माग गर्दै सर्वदलीय टोलीले कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई समेत गत फागुन २ मा भेट गरेको थियो ।

त्यस बेला स्वास्थ्यमन्त्री राई र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार्डै खरिद प्रक्रिया अघि बढाउने आश्वासन दिएर टोलीलाई फर्काएको थियो । जिल्लाबाटै सेवा सञ्चालन गर्न सकेमा ‘सीटी स्क्यान’का लागि सर्वसाधारणले ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने समन्वय प्रमुख शाक्यले बताए । सीटी स्क्यान खरिद प्रक्रियता रोकिए पछि समाजवादी मोर्चाले पनि विरोध जनाएको छ ।

 

तपाईको प्रतिक्रिया