Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

धनगढी, २ माघ । विशेषज्ञ चिकित्सकहरु सुगम ठाउँ नै रोज्छन् । प्रा.डा. सुभेषराज कायस्थ भने सेवाका लागि दुर्गम रोज्ने दुर्लभ उदाहरण हुन् । उनी लगातार ३० वर्षदेखि सुदूरपश्चिमका जनताको सेवामा छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थायी घर भएका उनले साढे दुई वर्षअघि सरकारी सेवाबाट अवकाश पाएपछि पनि धनगढी छाडेका छैनन् ।

सुदूरपश्चिमको महाकाली अञ्चल अस्पतालबाट सेवा सुरु गरेका डा. कायस्थले त्यहाँ १५ वर्ष बिताए । त्यसपछि विशेषज्ञ चिकित्सकको रुपमा धनगढीको सेती अञ्चल अस्पताल आए, जहाँ उनले ८ वर्ष काम गरे ।

बीचमा एक वर्ष काठमाडौंको वीर अस्पतालमा छाती रोग तथा मेडिसिनको प्राध्यापक बनेका उनी अहिले धनगढीको नमोबुद्ध अस्पतालमा कन्सल्टेण्ट चिकित्सक छन् । उनले निजी क्लिनिक पनि चलाएका छन् ।

सुदूरपश्चिमका जनताले दिएको अपार स्नेहकै कारण घर परिवारले बोलाउँदा पनि यतै बस्न मन लागेको उनी बताउँछन् । उनले भने, ‘सबैभन्दा ठूलो मानिसको मन हो । मन मिलेपछि सम्बन्ध गहिरिँदो रहेछ ।’

यही कारणले आफूलाई घरभन्दा धेरै टाढा सुदूरपश्चिममा टिकाइराखेको डा. कायस्थ बताउँछन् । शरीरले सकुञ्जेल यतै सेवा गर्ने उनको सोच छ । उनी भन्छन्, ‘किन भने उताभन्दा यतै बढी मेरो आवश्यकता छ ।’

आफ्ना डाक्टर छोरीहरु पनि यतै आइदिउन् भन्ने उनको चाहना छ । यसका लागि आफूले दुवै छोरीलाई मानसिक रुपमा तयार पारिरहेको उनले बताए । उनकी जेठी छोरी जुम्ला क्षेत्रीय अस्पतालमा पेड्रियाटिक तथा सहायक प्राध्यापक छिन् भने कान्छी काठमाडौं मेडिकल कलेज (केएमसी)मा एमबीबीएस चौथो वर्षमा अध्ययनरत छिन् ।

सुदूरपश्चिमको यात्रा

२०४६ मंसिरमा डा. कायस्थ आउँदा महाकाली अञ्चल अस्पतालमा गणेश बहादुर सिंह र हिमकर्ण ज्ञवाली स्त्री तथा प्रसूति रोग विशेषज्ञ थिए ।

भर्खर जिल्ला अस्पतालबाट अञ्चल अस्पतालमा स्तरोन्नती भएकाले अस्पतालमा जनशक्तिको कमी थियो । त्यही कारण स्वास्थ्य मन्त्रालयले कायस्थलाई महाकाली पठाउने निधो गर्‍यो । ‘त्यसबेला ३०(३१ वर्षको युवा जोश थियो, जान्न भन्ने कुरै थिएन’, डा. कायस्थ सम्झन्छन्, ‘पुगेपछि पो थाहा भयो, दरवन्दी नै सिर्जना नगरी पठाइएको रहेछ ।’

त्यसबेला महाकाली अञ्चल अस्पतालमा उपकरणको पनि ठूलो अभाव थियो । अलि जटिल केश आउँदा सीमापारि बरेलीतिर पठाउनु पर्थ्यो ।

ईसीजी मेसिन बिनाको अञ्चल अस्पताल

त्यसबेला कञ्चनपुरमा यातायात सुविधा पनि दयनीय थियो । एम्बुलेन्स त झन् टाढाको कुरा थियो ।

त्यस्तो अवस्थामा छातीमा तीव्र पीडा भयो भन्दै एक व्यक्ति अस्पताल आए । निम्बुखेरा गाउँका उनी बैलगाडा चढेर अस्पताल आइपुगेका थिए । ‘उनमा हृदयाघातको लक्षण देखिएको थियो, तर त्यो पुष्टि गर्न चाहिने ईसीजी मेसिन अस्पतालमा थिएन,’ डा. कायस्थले विगत सम्झिए, ‘लक्षणकै भरमा उपचार गर्नुको विकल्प रहेन ।’

उनलाई उपचार पद्दती र आफ्नो क्षमतामा शंका थिएन । तुरुन्तै उपचार थालेर उनलाई बचाए । डा. कायस्थ सम्झन्छन्, ‘चार दिनमा केही ठीक भएपछि भारत पठाएँ ।’

विरामीलाई हृदयाघात नै भएको बरेलीमा पत्ता लागेपछि त्यहाँका डाक्टरले भनेछन्, ‘तपाईंको जुन प्रकारले उपचार भयो, एकदम सही तरीकाले भयो, तर चार दिनमै डिस्चार्ज गर्न चाहीँ नहुने थियो ।’

महाकाली अञ्चल अस्पतालमा ईसीजी मेसिनसम्म नभएको ती भारतीय डाक्टरलाई के थाहा ?

‘सफल चिकित्सक बन्न जिल्लामा जानैपर्छ’

सुभेषराज कायस्थले जन्मथलो बनेपाको आजाद हाईस्कुलबाट एसएलसी, काठमाडौंको महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट हेल्थ असिस्टेन्ट र बंगलादेशको राजशाह मेडिकल कलेजबाट एमबीबीएस गरे ।

त्यसपछि वीर अस्पतालको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएएसएस) बाट इन्टरनल मेडिसिनमा एमडी गरेका प्रा. डा. कायस्थले ३० वर्षे करिअरमा विभिन्न अनुसन्धानात्मक क्रियाकलापमार्फत सुदूरपश्चिमका समस्यालाई राष्ट्रिय(अन्तर्रा्ष्ट्रिय मञ्चमा थुप्रै पटक प्रस्तुत गरे ।

यो ३० वर्षको अवधिमा चिकित्सा क्षेत्रमा जति परिवर्तन भयो, त्यो डा. कायस्थको आँखै अगाडि भयो । उनको अनुभवमा, अहिलेका चिकित्सकमा रोग निदानप्रति खासै आसक्ति छैन । विरामीको व्यथा बुझ्न र आशु पुछ्नभन्दा पैसा कमाउन बढी केन्द्रित हुने प्रवृत्ति बढेको छ ।

अहिलेका चिकित्सकहरु व्यापारमुखी हुँदै गएका छन् । यसले गर्दा पछिल्लो समय चिकित्सा क्षेत्रको साख खस्केको हो कि भन्ने भएको प्रा. डा. कायस्थ बताउँछन् । ‘चिकित्सा पेशाप्रति मानिसहरुको विश्वास जगाउन र सफल चिकित्सक बन्नु छ भने डाक्टरहरु जिल्लामा जानैपर्छ’, उनी भन्छन्, ‘जिल्लामा नै नेपालको स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था थाहा हुन्छ ।’

भौतिक पूर्वाधारको कमी भएको ठाउँमा धेरै परिश्रम गर्नुपर्छ । त्यस्तोमा बिरामीको रोग निदान गर्नुपर्दा दिमागको एक्सरसाइज पनि धेरै भएर सेवामा सफल भइने उनको अनुभव छ ।

सिकलसेल एनिमियामाको अनुसन्धान

थारु जातिलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोगबारे अनुसन्धान गर्ने टिममा पनि थिए, डा. कायस्थ । सेती अञ्चल अस्पतालको त्यो टिमले सिकलसेल एनिमियाले रक्तअल्पता मात्र नभई बहुअंगलाई प्रभावित पार्ने पुष्टि गरेको थियो ।

टिमले सिकलसेल एनिमियाका एक सयजना बिरामीको विस्तृत अनुसन्धान गरेको थियो । जसमध्ये १५ प्रतिशतको पित्तथैलीमा पत्थरी भएको र १२ प्रतिशतको आँखा बिग्रेको पाइएको थियो भने सबै बिरामीको हड्डीमा केही न केही असर पुगेको थियो । उनीहरुमध्ये १२ प्रतिशत अविवाहित युवायुवती थिए ।

त्यसपछि डा. कायस्थले नेपाल सरकारको निर्दे्शिका ‘नेशनल गाइडलाइन अफ म्यानेजमेन्ट अफ सिकलसेल सेल डिजिज’ लेखे । त्यसअघि ‘नेशनल गाइडलाइन अफ ट्रपिकल डिजिज’का मुख्य लेखक पनि हुन्, उनी ।

डा. कायस्थले सुदूरपश्चिमका जिल्लाहरुमा लाग्ने ट्रपिकल रोगबारे अर्को अनुसन्धान पनि गरिसकेका छन् । शाकाहारी मानिसमा हुने भिटामिन बी(१२ को कमीबारे गरिएको अनुसन्धानलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि अनुमोदन गरेको छ ।

सिकलसेलबारे सुझाव

डा. कायस्थहरुले सिकलसेल एनिमिया रोगको उपचार सुरु गर्दा अवस्था निकै जटिल थियो । कतिपयलाई बचाउन सकिएन । ‘उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्थ्यो जुन कल्पना बाहिरको कुरा थियो’, उनी भन्छन्, ‘अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार नभएका कारण कतिपय विरामीको मस्तिष्कघात भएर मृत्यु भयो ।’

त्यो बेलाको तुलनामा अहिले उपचारमा सुधार त आएको छ, तर सन्तोष मान्न सकिने ठाउँ छैन । सरकारले सिकलसेलका बिरामीको उचित व्यवस्थापनमा ध्यान नदिँदा यो रोग निवारणमा लाखौं रुपैयाँ खर्च गरे सही सदुपयोग नभएको डा. कायस्थको गुनासो छ ।

सिकलसेल रोग निवारणका नाममा सरकारले अहिले जसरी काम गरिरहेको छ, त्यसको विपक्षमा छन्, उनी । ‘सरकारले रक्त परीक्षणमा होइन, बिरामीहरुको उचित व्यवस्थापनतर्फ ध्यान केन्द्रित गर्न जरुरी छ’, उनी भन्छन्, ‘यो रोगबाट ग्रसित विरामी आफैंमा रोगको कारखाना भएकाले प्राथमिक तहमै त्यसलाई नियन्त्रण गर्न पनि यो रोगबाट ग्रसित विरामीलाई विवाह गर्नबाट रोक्ने उपायहरु अवलम्बन गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया