Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ३० पुस । भिसामा तोकिएभन्दा बढी समय बसोबास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिबिना (ओभर स्टे) नेपालमा बसेको भन्दै देशनिकाला गरेको हो। सन् २०१८ मा तीन सय ७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ।

चिनियाँ नागरिक पर्यटक भिसामा आएर विकास निर्माणका काममा खटिँदै आएका छन्। पछिल्लोपटक गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निकालेको थियो। उनीहरू सांघाई कन्स्ट्रक्सन ग्रुपअन्तर्गतका कर्मचारी थिए। पर्यटक भिसामै आएर परियोजनामा काम गर्ने र भिसाको समय नथप्ने भएकाले उनीहरूलाई निष्कासन गरिएको विभागले जनाएको छ। विभागका महानिर्देशक एवं सहसचिव ईश्वरराज पौडेलका अनुसार चिनियाँ कम्पनीले ठेक्का लिएका विभिन्न परियोजनामा कार्यरत धेरैजसो कर्मचारी निष्कासनमा परेका छन्। ‘काठमाडौंको रिङरोड, रसुवा करिडोर, होङ्सी सिमेन्ट कम्पनी तथा विभिन्न व्यवसायमा जोडिएका व्यक्ति भिसाको म्याद सकिएपछि पनि बसिरहेकाले निष्कासन गरिएको हो’, पौडेलले भने।

उनका अनुसार गम्भीर प्रकृतिको अपराध गरेर भने उनीहरू देशनिकाला भएका होइनन्। ‘धेरैजसो चिनियाँ बलमिच्याइँ गरेर बसेको पाइयो। काम गर्ने हो भने श्रम स्वीकृति लिनपर्छ। त्यसो नगरी पर्यटक भिसामै व्यवसाय गर्ने श्रम गर्ने जस्ता कारण रहेका छन्’, पौडेलले भने। नेपालमा काम गर्नुपरे जुनसुकै विदेशीले पनि श्रम स्वीकृति लिनुपर्छ। जुन उद्देश्यका निम्ति भिसा लिएको हो, त्यसबाहेक काम गर्न पाइँदैन। विदेशी नागरिक पर्यटक भिसामा एक सय ५० दिनभन्दा बढी नेपाल बस्न पाउँदैनन्।

सन् २०१८ देखि भने पर्यटक भिसामा अमेरिकी नागरिक एक सय ८० दिन बस्न पाउने नयाँ व्यवस्था गरिएको छ। तर चिनियाँ नागरिकको हकमा त्यो व्यवस्था छैन। उनका अनुसार नेपाली नागरिकसँग विवाह गरेर बसेको तर विवाह दर्ता नगरेका चिनियाँ व्यक्ति पनि निष्कासनमा परेका छन्।
महानिर्देशक पौडेलका अनुसार यस वर्ष भिसा सकिएर बस्दै आएका ४४ अमेरिकी नागरिक निष्कासनमा परेका छन्। त्यस्तै सरकारले २१ बंगलादेशी, २७ पाकिस्तानी, १६ इरानी, १५ दक्षिण कोरियाली र १४ जना उज्वेकिस्तानीलाई अघिल्लो वर्ष निष्कासन गरेको थियो। विभागका अनुसार गत वर्ष भारत, टर्की, श्रीलंका, युक्रेन, लेबनान, स्पेन, यमन, युक्रेनलगायत ६२ मुलुकका विदेशी निष्कासनमा परेका थिए।

२०१३ मा दुई सय २० जना तथा २०१४ मा एक सय ९१ जना विदेशी निष्कासनमा परेको तथ्यांक विभागसँग छ। २०१५ मा दुई सय ८१, २०१६ मा दुई सय ९७ र २०१७ मा चार सय ३५ जनालाई निष्कासन गरिएको थियो। यस वर्ष सबैभन्दा बढी चिनियाँ नागरिकको ‘ओभर स्टे’ देखिएकाले अध्यागमन विभागले उनीहरूको विशेष निगरानी गर्ने भएको छ।

इरानी विशेष निगरानीमा
नेपालमा बस्दै आएका इरानीलाई विभागले विशेष निगरानी गर्दै आएको छ। अध्यागमन विभाग स्रोतका अनुसार विभिन्न मुद्दामा कैद सजाय पाएका, नक्कली राहदानी बोकेर नेपाल आएका, बिनाअनुमति नेपाल बसेका इरानीहरू निष्कासित भएका छन्। कतिपय इरानीलाई भने नेपाल प्रहरीको विशेष ब्युरो तथा केन्द्रीय अनुसन्धान ब्युरोले दिएको जानकारीका आधारमा पनि निष्कासन गरिएको छ। ‘इरानलाई विश्वले फरक नजरले हेरिरहेका बेला त्यहाँका नागरिकलाई नेपालमा पनि निगरानी हुनु स्वाभाविक हो’, विभाग स्रोतले भन्यो, ‘उनीहरू खासगरी धार्मिक अतिवादी भएकाले पनि निगरानीमा परेका हुन्।’ विभागका अनुसार नक्कली राहदानी बोकेर नेपालबाट युरोप जान लागेका १० जना इरानीलाई कारबाही गरी देश काला गरिएको छ। हालसम्म विभिन्न अभियोगमा १६ इरानीलाई अध्यागमन विभागले निष्कासन गरिसकेको छ।

नागरिकबाट साभार

तपाईको प्रतिक्रिया