Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

जनकपुरधाम, ३० पुस । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिवमाथि हातपात गरेका छन्।

वन मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमै बोलाएर उनले हातपात गरेको बताइएको छ।

उद्यम कार्यक्रमको मेडपा नामक योजना आफूले भनेको एनजिओलाई नपारेको भन्दै मन्त्रीले कुटपिट गरेको सचिव झाले आरोप लगाएका छन्। उता मन्त्री यादवले भने आफूले कुटेको प्रमाण देखाउन चुनौती दिएका छन्।

मन्त्रालय स्रोतका अनुसार मन्त्री यादव र सचिव झाबीच परियोजनाका लागि छुट्याइएको रकम लेनदेनको विषयमा कुरा नमिल्दा दुबैबीच पटकरपटक टकराव समेत भएको थियो तर सचिव झाले मन्त्रीको कुरा नै पूर्णरूपले नकारेपछि यो घटना हुन पुगेको हो।

उनले आफूले सचिव झामाथि कुनै प्रकारको दुर्व्यवहार नगरेको दाबी गरेका छन्। मन्त्री यादवले सचिवलाई कुटेको प्रमाण भए आफू पनि कारबाही भोग्न तयार रहेको बताए।

घटनापछि सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषामा एक घण्टा राखेर प्रहरीले बयान लिएको थियो। त्यसपछि उनलाई प्राथमिक उपचारका लागि जनकपुर अञ्चल अस्पताल समेत पुर्याइएको थियो।

घटनापछि सचिव झाले सञ्चारकर्महरूसँग कुरा गर्दै आफू मन्त्रीविरूद्ध अब कानुनी कारबाहीतर्फ जाने बताए।

उनले मन्त्रीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने र कारबाही नभएसम्म चुप लागेर नबस्ने बताए।

सचिव झाले प्रदेश सरकारभित्र भइरहेको भ्रष्टाचारको पोल निकट भविश्यमै खोल्ने चेतावनी समेत दिए।

मन्त्रीले यसरी कुटे सचिव

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झा बीच मेडपा कार्यक्रमलाई लिएर पहिलेदेखि नै असन्तुष्टि थियो।

सचिव झाका अनुसार स्वयं उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय समेत सचिव झासँग असन्तुष्ट थिए। तर आफूले मन्त्री रायलाई योजना निष्पक्षरूपमा छनोट भएको बताएपछि उनी असन्तुष्ट भएका सचिव झाले बताए।

मन्त्री यादवले ‘सिरहाको एक एनजिओसँग पैसा खाएको छु। उसको योजना पार्नैपर्छ’ भन्ने दबाब सुरूदेखि नै दिँदै आएको सचिव झाले बताए।

सचिव झाका अनुसार मन्त्री यादवले यो असन्तुष्टिको विषयमा सचिव झालाई आइतबार दिउँसो आफ्नै कार्यकक्षमा आर्थिक मामिला तथा योजना मन्त्रालयका खरिदार वसन्त साहलाई पठाएर बोलाउन लगाएका थिए।

अर्थ मन्त्रालय जानु अघि सचिव झाले उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश रायसँग समेत यस विषयमा कुराकानी भएको उनले बताए।

सचिव झा मन्त्रालय पुग्दा कोट लगाएका एक जना पहिलेदेखि नै त्यहाँ बसिरहेका थिए। झाका अनुसार एक जनाले ‘सभामुख ज्यू चिया लिनुस्’ भनेर आग्रह गर्दा मात्रै उहाँ सभामुख हुनुहुन्छ भन्ने जानकारी पाए।

सचिव झा त्यहाँबाट उठेर बाहिर केहीबेर बसे। सो अवधिमा उनले मधेश आन्दोलनका एक जना घाइतेसँग समेत उनले कुरा गरे।

पछि मन्त्री यादव आएपछि उनलाई कार्यकक्षमा बोलाए। आफू नजिक रहेको कुर्सीमै मन्त्रीले आफूलाई बस्न आग्रह गरेपछि त्यहाँ बसेको सचिव झाले सुनाए।

‘मन्त्री ज्यूले योजनाको रिजल्ट फेर बदल गर्नुपर्छ भन्नुभयो’, कार्यकक्षमा भएको कुरा सम्झदै उनले भने,‘मैले रिजल्टमा कुनै फेरबदल हुँदैन भनेपछि एकाएक चाटा हिर्काउ सुरू गर्नु भयो।’

मन्त्रीले पछि लात्तीले पिठ्युमा हिर्काउँदै बाहिर निकालेको उनले बताए।

उनले आफू एक मर्या्दित कर्मचारी भएकै कारण मन्त्रीमाथि प्रहार नगरेको बताए। ‘तै पनि ढोका लगाएर कुट्ने प्रयास गर्न थालेपछि बच्नका लागि कार्यकक्ष बाहिर निस्किएँ’, उनले भने।

आफूलाई सभामुख, वन मन्त्रालयकै कर्मचारी सुरेश शर्मा लगायतले बचाउ गरेपछि मात्रै कार्यकक्षबाट बाहिर निस्कन सफल भएको सचिव झाले बताए।

तपाईको प्रतिक्रिया