Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

रुपन्देही, ३० पुस । फेरी अर्को इन्काउन्टर, सिधै गोली हान्दा एकजना ठाउँको ठाउँ ढले

प्रहरीसँग गोली हानाहान हुँदा शनिबार राति रूपन्देहीमा एक जनाको मृत्यु भएको छ।

गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीसँग राति १२ बजे सिद्धार्थनगर नगरपालिका – १० शंकरपुरमा दोहोरो गोली हानाहान भएको जिल्ला प्रशासन कार्यालय र”पन्देहीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचको लागि रोक्दा मोटरसाइकलमा आएका दुई जनाले एक्कासी गोली चलाएको र प्रहरीले पनि प्रतिरक्षाको लागि गोली चलाउँदा एक जनाको ज्यान गएको बताए।

भारतीय नम्बर प्लेट यु पी ५३ एच २०२८ को मोटरसाइकलमा आएका उनीहरूलाई चेकजाँचको लागि रोकेपछि मोटरसाइकल पछाडि बसेको व्यक्ति भागेको र चालकले नै प्रहरीमाथि गोली हानेको प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए।

अन्दाजी ३०–३५ वर्षका मृतकको शव भीम अस्पताल भैरहवामा राखिएको छ। उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। प्रमुख जिल्ला अधिकारी रानाले मृतकको साथमा कुनै कागजात, मोबाइललगायतका पहिचान खुल्ने कुनैपनि सामान फेला नपरेको र स्थानीयले समेत पहिचान गर्न नसकेकोले भारतीय नागरिक भएको हुन सक्ने सेतोपाटीलाई जानकारी दिए।

‘मृतकको साथमा पहिचान खुल्ने कुनै कागजात वा वस्तु फेला परेको छैन, स्थानीयले पहिचान गर्न नसकेकाले अनुसन्धान भइरहेको छ,’ उनले भने।

रातिको समयमा सीमाक्षेत्रमा चोरीतस्करी बढेकाले नियन्त्रणको लागि खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गर्ने तस्कर समुह भएको प्रमुख जिल्ला अधिकारी रानाले दाबी गरे।

‘रातिको समयमा सामान तस्करी गर्दा बाटो क्लियिर गर्न पहिले तस्कर समूह आउने गर्छ शनिवार राति पनि भारतीय सीमा क्षेत्रबाटै आएको समूहले पहिले प्रहरीमाथि गोली प्रहार गरेको हो,’ उनले भने।

गोली लागेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका जवान कृष्ण श्रेष्ठ घाइते भएका छन्। उनको पाखुरामा गोली लागेको छ।

तपाईको प्रतिक्रिया