Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

भद्रपुर, २९ पुस । झापामा पहिलो पटक ड्रोन र सिसि क्यामेराबाट मेलाको निगरानी गरिने भएको छ । कनकाइ नगरपालिका स्थित कनकाइ नदीमा पुस ३० देखी माघ २ गतेसम्म लाग्ने कनकाइ धार्मीक माइमेला(मकर मेला)मा यस्तो प्रविधि मार्फत निगरानी गरिने भएको हो ।

तिर्थयात्रीहरुलाइ मध्यनजर गरी मेलालाइ सुरक्षित रुपमा सञ्चालन गर्न यो प्रविधिसँगै ११ बुदे सुरक्षा योजना समेत सार्वजानिक गरेको छ ।

स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब,धार्मिक सङ्घ संस्था लगायतहरुसँग जिल्ला प्रहरी कार्यालय झापाले समन्वय गरी सुरक्षा योजना बनाई कार्यान्वयन गर्ने जनाएको छ ।

जिल्ला प्रहरीले शुक्रबार साँझ सार्वजानिक गरेको सुरक्षा योजना अनुसार माईमेलाको दुबैतर्फ ३ सय १५ जना प्रहरी जनशक्ती परिचालन गरिने भएको छ भने जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापालाई ट्राफिक व्यवस्थापन गर्न आवश्यक निर्देशन दिईएको उल्लेख छ ।

सुरक्षा योजना अनुसार कम्तिमा ५० जना ट्राफिक प्रहरी कर्मचारीहरु ट्राफिक व्यवस्थापनमा खटिनेछन् । मादक पदार्थ बेचबिखन, वितरणले शान्ति सुरक्षामा प्रतिकुल असर गर्ने भएकोले मेला क्षेत्रको दुइ किलोमिटर वरिपरिको क्षेत्र र मेला क्षेत्रमा सो कार्यलाई पूर्णरुपमा बन्देज लगाईको बुदामा उल्लेख छ । सूचनाको लागि स्थानीय प्रहरीले समयमै माईकिङ्ग गरी सम्बन्धित सबैलाई जानकारी गराउने छ ।

त्यस्तै अनैतिक कृयाकलाप नियन्त्रण गर्न पाँचवटा टोली मेला स्थालमा खटिएर मेला स्थलको वरिपरी, जङ्गल तथा सार्वजनिक स्थलमा अनैतिक कृयाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक कारबाही गर्ने जनाइएको छ ।

त्यसैगरी नदीको उत्तर दोमुखा क्षेत्रमा समेत तिर्थयात्रीहरु जान सक्ने हुँदा इन्सपेक्टरको कमाण्डमा सुरक्षा टोली खटाईने छ भने मेलास्थलमा जुवाजन्य खेलहरुलाई पूर्णरुपमा बन्देज गरिने भएको छ ।

अपराधिक खबर सङ्कलन तथा पाकेटमार नियन्त्रण गर्न सादा पोशाकमा प्रशस्त्र मात्रामा प्रहरी कर्मचारी परिचालन गरिने छ । मेलाको वारिपारी र दोमुखा क्षेत्रमा एक –एक गरी जम्मा तीन वटा तिर्थयात्री सहायता कक्षको स्थापना समेत गरिने भएको छ ।

तिर्थयात्री हराएमा वा कुनै समस्या परेमा प्रहरी कर्मचारीहरुद्धारा आवश्यक सहयोग लिन सहायता कक्षले काम गर्ने छ भने मेलाको वारिपारी डिएसपीको कमाण्डमा दुइ वटा कमाण्ड पोष्ट खडा गरिने पत्रमा जनाइएको छ ।

कमाण्डरले सुरक्षा योजना अनुसार सम्पूर्ण सुरक्षाकर्मीहरुको कामको रेखदेख, नियन्त्रण, सञ्चालन तथा अनुगमन र परिचालन गरी शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउने बुदामा उल्लेख गरिएको जिल्लाका एसपी भीमप्रसाद ढकालले जनाए ।

विगतका वर्षहरुमा भन्दा यो पटको मेलालाइ फरक ढङ्गले सुरक्षा योजना तयार पारिएको एसपी ढकालको भनाइ छ । माइ मेलामा नेपाल लगायत वाहिरी देशबाट उल्लेखिय रुपमा तिर्थयात्री आउने गरेको विगतका वर्षहरुले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया