Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

झापा, २ फागुन २०८१ । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिका फाइनल पुग्ने पहिलो टोली बनेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४–३ गोलले पराजित गर्दै कनकाई फाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि नतिजा सडनडेथमार्फत निकालिएको हो ।

कनकाईका लागि एलेक्स चौधरी, वर्षा मगर, सुशीला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुर्किया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करुणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।

खेलको प्लेयर अफ दी म्याच कनकाईकी सुशीला चौधरी घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । भोलि अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

 

तपाईको प्रतिक्रिया