Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

राजविराज, २५ माघ २०८१ । शहिद साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा विगत १३ वर्ष देखी नियमितरुपमा आयोजना हुदै आएको अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिताको १३ औ संस्करण बिहिवार सम्पन्न भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा विहीवार भएको ७ वटा अन्तिम प्रतिस्पर्धामा नेपालका ४ र भारतका ३ खेलाडीले जीत हात पारेका छन ।

पूरुष तर्फ भएको विभिन्न तौल समुहको प्रतिस्पर्धामा नेपालका सुनिल साह, बलिराम यादव र लक्की थापाले क्रमश भारतका गणी पहलमान, रिजवान गणी र लाला पहलमानलाई पाखा लगाए ।

यस्तै महिला तर्फको प्रतिस्पर्धामा नेपालकी पुनम यादवले भारतकी बबिता कौरलाई पाखा लगाईन । महिला तर्फको अर्को प्रतिस्पर्धामा भने भारतकी सुन्दरी कौरले भारत कै कल्पना थारलाई पाखा लगाइन ।

पुरुष तर्फको अन्य दुई प्रतिस्पर्धामा भारतका पहलमानहरु विजयी भएका छन ।

सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमीको अवसर पारेर विगत १३ वर्ष देखी तिलाठीमा नियमित पुजा र मेला तथा पुजा समितीद्वारा अन्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।

पंचायती व्यवस्था तथा राजतन्त्र विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व।साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा नियमितरुपमा आयोजना हुदै आएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २२ महिला र ६४ पुरुष खेलाडी सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा सप्तरीका नवनित झा र पर्साका सुनिल साह निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितको उत्कृष्ट खेलाडी नेपालका लक्की थापा घोषित भए ।

वडाअध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतमा आयोजित प्रतियोगितको समापनका अवसरमा पुजा समितिका अध्यक्ष अजित कुमार मिश्र, शहिद साकेत चन्द्र मिश्र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुमेश चन्द्र मिश्र, तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, सेवा निवृत प्रध्यापक भोगेन्द्र मिश्र, बाबु नारायण मिश्र लगायतले विजयी खेलाडीहरुलाइ पुरस्कार वितरण गरेका थिए ।

तीन दिन सम्म चलेकोे प्रतियोगितामा आयोजक सप्तरीका साथै पर्सा, सिरहा, धनुषा, सर्लाही, बाके तथा भारतको राजस्थान, बिहार, मध्यप्रदेश, झारखण्ड, दिल्ली, हरियाण र पंजाबका पहलमानहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा महिला तर्फ २ र पुरुष तर्फ १८ गरी कुल २० तौल समुहमा प्रतिस्पर्धा भएकोमा नेपाली पहलमानले ६ र भारतीय पहलमानले १४ प्रतिस्पर्धामा विजयी हासिल गरेका छन ।

तपाईको प्रतिक्रिया