Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २४ पुस । प्रहरीले विभिन्न नाममा तीनवटा नागरिकता लिएर ठगी गर्दै हिँडेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढीका वासुदेव मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नारायणटार आर्याल गाउँबाट पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार खुद्रा पसलमा गएर ठूलो व्यापारी भएको बताउँदै सामान उठाएर ठगी गरेको उजुरी परेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।

त्यसक्रममा उनको ३ वटा नागरिकता रहेको भेटिएको छ ।

‘एउटा आफ्नै नामबाट नागरिकता बनाएका छन् भने अरु दुई वटा शिवराम पौडल र रामचन्द्र शर्माको नामबाट लिएका छन्’, बोगटीले अनलाइनखबरसँग भने, ‘नागरिकतामा सिरियल नम्बरसहित अन्य विवरणहरु पनि दुरुस्तै छ ।’

प्रहरीले ती नागरिक नक्कली वा सक्कली के हो भन्ने छुट्टयाउन सकेको छैन । ‘उनले ती नागरिकता कसरी बनाए भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, डीएसपी बोगटीले भने ।

उनका अनुसार मैनालीले पसलहरुमा सामान लिएर गई विभिन्न स्थानबाट फरकफरक नाममा गरी ४० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको नारायणटारस्थित गोदाममा फ्रिज, टेलिभिजन, जेनेरेटर, विदेशी ब्रान्डका मदिरासहित गरी करिब १५ लाखको बराबरको सामान पनि भेटिएको प्रहरीले जनाएको छ ।

उनीमाथि प्रहरीले कीर्ते र ठगी सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया