Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

चितवन, २४ पुस । जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएका छन् ।

मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्क्विहीन भएको जानकारी दिए ।

आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका हुन् । गत आर्थिक बर्षको लेखा परीक्षण गर्दा उनको नाममा बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेका थिए ।

मालपोत कार्यालय भरतपुरमा दैनिक २ करोड ५० लाख रकम राजश्व स्वरुप उठ्ने गर्दछ ।मंसिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटेर पनि दर्जीले टेरेनन् ।

मंसिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टा भित्र नै रकम दाखिला गर्न पत्र दियो । तर दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख लालकृष्ण पौडेलले जानकारी दिए ।

दर्जी २५ गतेबाट फरार भए पनि त्यसको जानकारी विभागलाई समेत गराइसकिएको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ । फोनमा सम्पर्क नभए पनि मालपोतका कर्मचारीहरु दर्जीको घरमा नै गएका थिए । दर्जीले सरकारी मोटरसाइकल र मोवाइल घरमा नै राखेर वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

मालपोतका लेखा अधिकृत हरिहर शर्मा तिवारीले दर्जीले डुबाएर गएको बताए । भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा स्टोरमा दर्जीको पनि साझेदारी रहेको खुलेको लेखा अधिकृत शर्माले बताए ।

जनताबाट आएको राजस्व रकम हिनामिना गरेर फरार भएपछि दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको छ । अख्तियारमा समेत आवश्यक कारर्वाहीका लागि लेखी पठाइएको छ ।

दर्जीको सम्पत्तिबारे थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख शर्माले बताए । तर प्रहरीलाई भने अहिलेसम्म जानकारी गराइएको छैन । यसअघि गएको जेठमा मालपोत कार्यालयबाटै कार्यालय सहायक शंकरप्रसाद धिताल २५ हजार घूससहित रंगेहात पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया