Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २४ पुस । प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई मंगलबार नियन्त्रणमा लिएको छ ।

श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मंगलटारका ३७ वर्षीय दिपु शाह र कोसीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।

त्यस्तै, भक्तपुर, बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङको पट्यारीका २४ वर्षीय पुजन राई, बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङलाई पनि सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले यसअघि पनि सोही कार्यालयबाट सेवाग्राहीलाई सास्ती दिँदै आएका विचौलियालाई नियन्त्रणमा लिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालय सम्हालेलगत्तै श्रम कार्यालयलाई विचौलियामुक्त पार्ने अभियान सन्चालन गरेका थिए ।

उनकै सक्रियतामा गृह मन्त्रालयले प्रहरीको एक युनिट श्रम कार्यालयमा खटाएको थियो ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति, पुनःश्रम स्वीकृतिको प्रक्रियालाई अनलाइन र टोकन प्रणालीमा लगे पनि सेवाग्राहीले सहजै सेवा पाउन सकेका छैनन् ।
रासस

तपाईको प्रतिक्रिया