Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, २४ पुस । जनता आवास कार्यक्रम अन्तर्गत घर बनाइ दिने भन्दै ठगी धन्दा चलाउने मोरङ जहदा गाउँपालिका–१ धुनीका दिलबहादुर गुरुङलाई प्रशासनले नियन्त्रणमा नलिँदा पीडितले न्याय पाउने सम्भावना क्षीण बनेको छ ।

जहदा गाउँपालिकाको धुनी बस्तीका ३३ घरबाट ४० हजार रुपैयाँको दरले १३ लाख ३२ हजार रुपैयाँ लिएर हिडेका उनी पक्राउ नर्पदा पीडित न्याय पाउनबाट बञ्चित बनेका हुन् । पीडितका अनुसार उनी खुलेआम हिडिरहेका छन् ।

प्रशासन भने पीडितको उजुरी आए पक्राउ गर्ने दाबी गर्दै आएको छ । सरकारले गरिब, बिपन्न र पिछडिएका समुदायका लागि घर निर्माण गर्न सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत गुरूङले ४० हजार रुपैयाँ लिएको पीडितहरू बताउँछन् ।

३३ घरपरिवारको रकम लिएको केही समयपछि नै बेपत्ता बनेका उनी अहिले गाउँमै घुमिरहेको पीडितमध्येका जहदा धुनीका नन्दकिशोर सरबरियाले बताए ।

‘आफूले थोरै लगानी लगाउँदा बाँकी खर्च सरकारले व्यहोरेर पक्की घर बनाइदिने सुन्दर सपना गुरुङले देखाएँ,’ उनले भने, ‘आफूसँग पैसा नभएपछि ऋण खोजेर पैसा बुझाएको एक वर्ष पूरा भयो । अहिलेसम्म घर बनेन ।’ रकम बुझाएको १ वर्ष पूरा हुँदा पनि घर बनाउने कुनै सुरसार नगरेपछि बुझ्दै जाँदा आफूहरू गुरुङबाट ठगिएको उनले बताए ।

गुरुङले ठगी गरेको पत्तो पाएपछि पीडितहरूले स्थानीय जनप्रतिनिधि गुहारेका थिए । जनप्रतिनिधिहरूको रोहबरमा गुरुङले पैसा फिर्ता दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म फिर्ता गर्ने सुरसार गरेका छैनन् ।

सहमतिअनुसार पैसा नदिएपछि कानूनी प्रक्रियाअनुसार गुरुङलाई ठगी मुद्दामा प्रहरीमा उजुरी दिने तयारी गरिएको पीडितहरूले बताए ।

‘गुरुङलाई र पीडित भएका ३३ घरपरिवासँग यहाँका जनप्रतिनिधि बस्दा घर बनाउने भन्दै पैसा लिएको स्वीकार गरेका थिएँ,’ जहदा–१ वडा कार्यालयका सामाजिक परिचालक हरिओम राजवंशीले भने, ‘गुरुङले अहिलेसम्म पैसा नदिएको पाइएपछि कानूनी उपचार खोज्न सुझाब दिएका छौं ।’

जनता आवास अन्तर्गत मोरङका विभिन्न स्थानमा घर निर्माणको काम चलिरहेको छ । विराटनगर–१८ स्थित फडानी टोलमा रहेको ऋषिदेव बस्तीमा पनि जनता आवास अन्तर्गत घर निर्माणको काम भइरहेको छ । छेउछाउका गाउँमा घर निर्माण हुन थोलेपछि त्यस्तै घरको अपेक्षा गर्नेहरू जहँदा १ धुनी बस्तीका ३३ परिवार ठगिएका हुन् ।

पीडितले उजुरी दिए कारवाही गर्छौ
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पीडितहरूले प्रहरीमा निवेदन दिए कारवाही गरिने बताए । ‘घटनामा बारे मैले पनि विभिन्न सञ्चारमाध्यबाट जानकारी पाएँ,’ उनले भने, ‘कसैले उजुरी दिए पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाउछौं ।’ उनले लेनदेन र ठगीको विषयमा अदालतमै छिनोफानो हुने कानूनी व्यवस्था रहेको भए पनि लेनदेनको कारण समाजमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन लागि पर्ने बताए ।

यता जहदा गाउँपालिकाको प्रमुख कैलाशप्रसाद मण्डलले आफ्नो गाउँपालिकामा कुनै पनि प्रकारको जनता आवास कार्यक्रम सञ्चालन नभएको प्रष्ट पारे । यसबारे थप जानकारी लिनका लागि हामीलाई प्राप्त गुरूङको मोबाइल नम्बरमा फोन गर्दा फोन सम्पर्क हुन सकेन । यसअघि पनि उनलाई पटक–पटक फोन सम्पर्क गरिएको थियो । त्यसबेला पनि फोन लागेको थिएन ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया