Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २३ पुस । काठमाडौंको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिहरुलाई माइक्रो बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् ।

महागनगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी) फडिन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा धुम्बाराहीकी ६० वर्षीया सीता दाहाल छिन् ।

घटनालगत्तै गम्भीर घाइते भएकी उनलाई नजिकैको अल नेपाल अस्पताल लगिएको थियो । तर, बाटैमा उनको मृत्यु भएको प्रसाईंले अनलाइनखबरलाई बताए ।

घटनामा खोटाङकस् १९ वर्षीय सपना राई, काटेश्वरका ५३ वर्षीय सुशील अधिकारी, ५० वर्षीया सरिता अधिकारी र धुम्बाराहीका ३५ वर्षीया लक्ष्मी सापकोटा घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते मध्ये लक्ष्मीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अल नेपाल अस्पतालमै उपचार भइरहेको छ ।

ठक्कर दिने माइक्रो र चालक प्रहरीको नियन्त्रणमा छन् ।

घाइते भन्छन् जेब्रा क्रसमा हुत्याएर ल्याउँदा दुर्घटना भो

घटनामा घाइते भएका सुशिल अधिकारीले जेब्रा क्रसमा पनि हुत्याएर माइक्रो ल्याउँदा दुर्घटना भएको बयान दिएका छन् ।

उनले प्रहरी अधिकारीहरुसँग भनेका छन्, ‘हामी बाटो काट्न लागेका थियौं । एउटा बस आयो । त्यो कटेपछि क्रस गर्दै थियौं । एक्कासि माइक्रो हुत्तिएर आयो ।’

प्रहरीले घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । हाल ठक्कर दिने माइक्रो र चालक प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया