Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २० पुस । नेपाली काँग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रसले अपनाएको मेलमिलापको नितिका कारण नेपाली जनताले शान्तिको सास फेर्न पाएको बताएका छन् । ४२औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा नेपाली काँग्रेस गौरादह नगर समितिले आयोजना गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले पार्टी भित्र सांगठनिक र राजनीतिक एकता भइसकेकाले आगामी निर्वाचनमा नेपाली काँग्रेसको विजयी निश्चित हुने बताएका छन् ।

गत निर्वाचनमा नेपाली काँग्रेस पराजीत भएका कारण नेपाली नागरिकले दुख पाएको बताए । दुई तिहाई बहुमतको सरकारले नागरिकलाई शान्ति सुरक्षा दिन नसकेको ठोकुवा गरे । सरकारको दश महिना अवधिमा हत्या बलात्कार अत्यधिक मात्रामा बढेकाले नागरिकको जीउ धनको सुरक्षा नभएको बताए । यस अवधिमा मूल्य वृद्धि अत्यधिक हुँदा नागरिकले महंगीको मार खेप्नु परेको बताए ।

निर्वाचनमा पार्टी पराजित भएपनि नोक्सान नभएको दाबी गरे । कम्युनिष्ट सरकारले मूलूक सञ्चालन गरेको नागरिकले महसुस नगर्दा यस सरकार बाट जनताले सुख शान्ति पाउँछन् भन्ने नेपाली नागरिकलाई लागेको थियो तर सोचे अनुसार नभएपछि नेपाली काँग्रेस पार्टीलाई फाइदा पुगेको बताएका छन् । नेपाली काँग्रेसका पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरुले एकताबद्ध भई गाउँका कुना कुनामा पसेर जनताको दुखमा साथ दिनुपर्ने धारणा राखे ।

नेपाली जनता र नेपाली भूमिको विपरित अन्य धर्मको प्रचार तथा कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनु देशलाई अधोगतिमा लैजानु र नेपालीको भावनामा खेलवाड गर्नु रहेको बताए । प्रधानमन्त्रिको क्षेत्रमा गौरादह नगरपालिकामा मेयरलाई पाखा लगाएर उपमेयरको अध्यक्षातामा स्थानीय ऐन पारीत गर्न खोज्नु कम्युनिष्ट सरकारको दुई तिहाइ बहुमतको दम्भ भएको बताए ।

माननिय सांसद महेन्द्र कुमारी सुब्बाले महिलाहरुले पाएको अधिकार सदुपयोग गर्न सक्नुपर्ने बताइन् । अधिकार मागेर मात्र पुरा नहुने भएकाले कर्तव्य पुरा गरेर देखाउनुपर्ने धारणा राखिन् । नेपाली काँग्रेस गौरादह नगर सभापति यादवराज सेढाईंको सभापतित्व्मा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली काँग्रेस महासमिति सदस्य देवी प्रसाद राजवंशी, डा. खगेन्द्र अधिकारी, गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर सचिव विदुर सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया