Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, १ पुष २०८१ । महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्धतले ४७ रन बनाइन्। त्यस्तै सोनी पाख्रिनले १३, सिमाना केसीले १२, साना प्रवीणले १० र सावित्री धामीले ८ रनको योगदान दिइन्। नेपालले अतिरिक्त १५ रन पायो। बलिङतर्फ पाकिस्तानकी फातिमा खान र क्वारातुलेनले समान एकरएक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो। पाकिस्तानका लागि कोमल खानले ४४ बलमा दुई चौकासहित ३८ रन बनाइन्। त्यस्तै महम अनीसले नटआउट २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२, फातिमा खानले नटआउट ६ रन बनाइन् भने अरीशा अन्सारीले एक रन जोडिन्।

बलिङतर्फ नेपालका लागि कप्तान पुजा महतोले २ विकेट लिइन्। त्यस्तै रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिइन्। योसँगै नेपाल सुपर फोरमा प्रवेश गरेको छ।

 

तपाईको प्रतिक्रिया