Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौँ, १९ पुस । त्रिभुवन विश्वविद्यालयले इतिहास अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागमा भर्ना हुने विद्यार्थीको संख्या शून्यमा झरेपछि इतिहास अध्ययनप्रति विद्यार्थीहरूको रुचि जगाउन विभागले यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्ने विषयमा छलफल सुरू गरेको हो। २०७४ सालमा त्रिभुवन विश्वविद्यालयमा इतिहास पढ्न एक जना विद्यार्थी पनि भर्ना भएनन्। विद्यार्थीहरू भर्ना नै नहुनेस्थित बनेपछि यसप्रति आकर्षण जगाउन छात्रवृत्तिको विशेष व्यवस्था गर्ने विषयमा परामर्श सुरू गर्नुपरेको त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका प्रमुख प्राध्यापक डाक्टर शंकर थापाले जानकारी दिए।

विभागले बिहिबार काठमाडौंमा इतिहासका विषयमा अध्ययनमा रुचि घट्दै जानुको कारणको खोजी गर्न अन्तरक्रिया कार्यक्रमनै आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै विभागका प्रमुख प्राध्यापक डाक्टर थापाले इतिहासका विषयमा रुचि राख्ने व्यक्तिहरूलाई पनि समेटेर बिहानी कक्षा सञ्चालन गर्ने प्रस्ताव पनि अघि सारे।

२०७० सालमा सेमेस्टर प्रणाली लागू भएपछि विद्यार्थी भर्ना संख्या घट्दै गएर २०७४ सालमा शून्यमा झर्न पुगेपछि इतिहास विषयमा विद्यार्थीहरूको आकर्षण बढाउन छात्रवृत्ति व्यवस्था लगायतका विषयमा छलफल सुरू गरिएको पनि विभागका प्रमुख थापाले बताए।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर त्रिरत्न मानान्धरले इतिहास विषयमा विद्यार्थीहरूको रुचि जगाउन अन्तराष्ट्रिय सम्बन्ध जस्ता कूटनीतिक इतिहासका विषयलाई पनि पाठ्यक्रममा समावेश गर्न विभागलाई सुझाव दिए। समयको आवश्यकतालाई सम्बोधन हुने खालका विषय खोजी गरी पठनपाठन सुरू गरे इतिहास विषयमा पनि पुनः अध्ययन गर्नेहरूको रुचि जगाउन सकिने उनको भनाइ छ ।

२०७० सालको पहिलो सेमेष्टरमा विभागमा ७ जना विद्यार्थी भर्ना भएका थिए। २०७१ सालमा ६ जना, २०७२ सालमा २ जना, २०७३ सालमा १ जना र २०७४ सालमा विद्यार्थी भर्ना नै नभएपछि विश्वविद्यालयले यस विषयको अध्ययनमा रुचि जगाउन आवश्यक छलफल सुरू गरेको हो।

लोक सेवा आयोगको पाठ्यक्रमबाट इतिहासका विषय हटाएपछि पनि इतिहास अध्ययन गर्ने विद्यार्थीहरूको रुचि घटन गएको विभागको निष्कर्ष छ ।

सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments