Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

बुटवल, १८ पुस । १६ दिनदेखि हराइरहेका जनप्रतिनिधिको खोजीमा प्रहरी प्रशासन र सरकारले चासो नदिएको गुनासो आफन्तले गरेका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाध्यक्ष ४१ वर्षीय विष्णुप्रसाद भुसाल ( विनोद) गत पुस २ हराएका थिए । लगत्तै आफन्तले प्रहरी प्रशासनलाई खबर गरे पनि उनको अवस्थाबारे केही पत्ता लागेको छैन ।

आफन्तले खोजी कार्य तीव्र नभएको भन्दै तदारुकता देखाउन माग गरेका छन् । आफन्तले बुटवलमा पत्रकार सम्मेलन गरी स्थानीयसँगै संघ, प्रदेश तथा प्रहरीसँग खोजीका लागि आग्रह गरेका हुन् ।

विष्णुका दाजु जीवलाल भुसालले जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले हराएका जनप्रतिनिधिको खोजतलासमा गम्भीरता नदेखाएको गुनासो गरे ।

भुसाल पुस २ गते वडा कार्यालयकै मोटरसाइकलमा गोरुसिंगे हिँडेका भुसाल पुस ३ गते साँझबाट सम्पर्क्विहीन भएका थिए । पुस ४ गते वडाकै एकजनाले फोन गर्दा भुसालको मोबाइल एक गाडीका चालक सन्तोष भुसालले उठाएका थिए । गाडीचालकले मोबाइल गाडीमा छुटेको तर मान्छे गोरुसिंगेमै ओर्लेको जानकारी गराए पनि त्यसपछिको अवस्थाबारे कुनै जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रमुख डीएसपी नवराज मल्लले बताए ।

उनको खोजतलासका लागि सम्बन्धित निकायमा हुलिया र फोटोसहित पत्राचार गरिएको जानकारी पनि उनले दिए ।

विष्णुका दाजु जीवलालका अनुसार गाउँमै फर्निचर उद्योगसमेत सञ्चालन गरिरहेका उनको घरपरिवार, साथीभाइ कसैसँग कुनै विवाद, झगडा थिएन । उनी स्थानीय चुनावअघि तत्कालीन माओवादी केन्द्रमा थिए । चुनावका बेला तत्कालीन एमालेमा प्रवेश गरेर जितेका थिए ।

तपाईको प्रतिक्रिया