Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

कपिलवस्तु, १८ पुस । विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा दुई दर्जन बढी आगन्तुक चराहरु मरेको अवस्थामा फेला परेका छन् । गत आइतबार बिहान १८ र साँझ ६ वटा आगुन्तक चराहरु मरेको अवस्थामा भेटिएका हुन् ।

केही दिनयता तालमा मरेर तैरिरहेका चराहरु भेटिन थालेपछि चोरी शिकारी बढेको अनुमान गरिएको छ । कुनै गिरोहले विष हालेर चराहरु मारेको हुनसक्ने र लैजान नसकेका चराहरु तालमै तैरिएको अवस्थामा फेला परेको हुनसक्ने जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्चका सदस्य ललीत गुरुङले बताए ।

धेरै चराहरु मृत फेला परेकाले जगदिशपुर तालमा चरा मार्ने गिरोह सक्रिय रहेको स्थानीयको अनुमान छ । खाँदा निकै स्वादिष्ट हुने भन्दै बजारमा यसको माग उच्च छ । एक जोडी चराको मूल्य एक हजार रुपैयाँभन्दा बढी पर्ने स्थानीयबासी बताउँछन् ।

कपिलवस्तु नगरपालिका वडानम्बर ९ का अध्यक्ष शिव वाग्लेले चराको चोरी निकासी बढ्न थालेको विषयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, बन र स्थानीयको ध्यानाकर्षण गराएर यस्ता काम रोक्न पहल गरेको बताए ।

कृत्रिमरुपमा बनाइएको जगदिशपुर तालमा जाडोको मौसममा विभिन्न देशबाट चराहरु आउने गरेका छन् । जाडोका चार-पाँच महिना चराहरु जगदिशपुर तालमा आएर फुल पारी बच्चा हुर्काई फर्कने गर्दछन् ।

चराले पर्यावरणलाई सन्तुलन राख्न मद्दत गरी बालीनाली उत्पादनमा सहयोग गर्ने भएकाले अबैधरुपमा हुने यस्ता चोरी शिकारीलाई नियन्त्रण गर्न जरुरी रहेको चराबिद डा. हेमसागर बराल बताउँछन् । ‘उत्पादन र आयआर्जन बढाउन सहयोग गर्ने पंक्षीको संरक्षण गर्नुपर्छ,’ उनले भने ।

कपिलवस्तु नगरपालिका( ९ र १० मा पर्ने जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो तालमा ११८ प्रजातिका चरा, आठ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छन् । जैबिक विविधताले महत्वपूर्ण भएकै कारण यस जलासयलाई रामसार कन्भेन्सनअन्तर्गत सन् २००३ मा अन्तर्रा्ष्ट्रिय सिमसार क्षेत्रमा सूचिकृत गरिएको छ ।

तपाईको प्रतिक्रिया