Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

झापा, ८ असोज २०८१ । आगामी शनिबारसम्म देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले अद्यावधिक मौसमबारे जानकारी लिन अनुरोध गरेको छ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना छ। राती कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

बुधबारदेखि भने मनसुनी वायुको प्रभाव अझ बढ्ने महाशाखाले जनाएको छ। सबैभन्दा बढी मनसुनी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्नेछ। ती क्षेत्रका २७ जिल्लामा बिहिवारदेखि शुक्रबारसम्म धेरै वर्षा हुन सक्ने भन्दै उच्च जोखिमको सूचीमा राखिएको मौसमविद् गोविन्द झाले जानकारी दिए।

महाशाखाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको ‘रेड जोन’मा परेका छन्। यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ।

कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिममा छन्।

तपाईको प्रतिक्रिया