Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

काठमाडौं ५ भदौ २०८१ । नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो ।

प्राधिकरणले साउनको अन्तिम साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको जानकारी दिएको छ । वीरगञ्ज महानगरपालिका-८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र हात्तीसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको हो ।

खारेजीमा परेको पर्सा टेलिकम्युनिकेसन प्रालिले २२ साउन २०७६ मा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो । इन्फोकम प्रालिले १५ असार २०६५मा अनुमति पत्र लिएको थियो । प्राधिकरणले अडिटेड वित्तीय विवरणअनुसार तिर्नरबुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम छिटो बुझाएर प्राधिकरणमा सम्पर्क गर्न भनेको छ ।

यसअघि ३२ जेठमा पनि ७ वटा इन्टरनेट कम्पनीको इजाजतपत्र खारेज भएको थियो । मोरङका वशिष्ठ केबल नेट प्रालि, इन्फोनेट टेक्नोलोजी प्रालिसहित जुम्लाको सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको एस नेट नेपाल प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालिको अनुमतिपत्र खारेज भएको थियो ।

 

तपाईको प्रतिक्रिया