२५ साउन २०८१ । हाम्रो भान्साकोठामा कतिपय यस्ता सामग्री हुनसक्छन्, जसलाई प्रयोग गर्नुअघि कतिको सुरक्षित छन् भनेर सोच्नुपर्ने हुन्छ । जसमध्ये एक हो, एल्युमिनियम फोयल । अफिस जानेहरूका लागि खाजा प्याकिङ होस् वा बालबालिकाका लागि टिफिन, एल्युमिनियम फोयलकै प्रयोग सहज हुन्छ । यसले खानालाई लामो समयसम्म तातो राख्न मद्दत गर्छ । साथै, रेस्टुरेन्ट तथा होटेलमा खाना प्याक गर्न लागि एल्युमिनियम फोयलकै व्यापक रूपमा प्रयोग गरिन्छ ।
चिकेन-मटन ग्रिल गर्नेदेखि रोटी बेर्नेसम्म, एल्युमिनियम फोयलले पाककलाको कामलाई धेरै सजिलो बनाएको छ । तर सहज र खानेकुरालाई तातो बनाइराख्ने सुविधाजनक एल्युमिनियम फोयल शरीरका लागि फाइदाजनक नहुने स्वास्थ्य विज्ञहरु बताउँछन् । यससम्बन्धी केही अध्ययन पनि भएका छन् ।
स्वास्थ्यमा एल्युमिनियमको प्रभाव
स्वास्थ्य विज्ञहरू भन्छन्, ‘यससम्बन्धी भएका सबै जसो अध्ययन तथा अनुसन्धानहरूले एल्युमिनियम स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरामा केन्द्रित भइरहेका छन् ।
एल्युमिनियम एक प्रकारको धातु हो । यसमा खानेकुरा प्याक गर्दा एल्युमिनियमका कणहरू खानेकुरामा मिसिएका हुन्छन् । यो कण दिसा र पिसाबबाट बाहिर जान्छ । तर यदि यसको मात्रा शरीरमा धेरै भयो भने गम्भीर असर गर्न सक्छ ।
के भन्छ अध्ययन ?
एल्युमिनियमका कणहरूको मात्रा धेरै भएमा शरीरभित्र दिमाग, हड्डीदेखि विभिन्न भागमा पुग्छन् । यसमा प्याक गरिएको खानेकुरा खाइराख्दा यो कण मस्तिष्कमा पुगी त्यसमा रहेको कैयौं भागलाई हानि गर्ने साइन्स डाइरेक्ट डटकममा प्रकाशित एक अध्ययनले देखाएको छ ।
त्यस्तै, इन्टरनेसनल जर्नल अफ इलेक्ट्रोकेमिकल साइन्स जर्नलमा प्रकाशित एक अध्ययनअनुसार एल्युमिनियमबाट विभिन्न उत्तेजक पदार्थहरूमा निस्कन्छ । यसमा हुने एसिड मदिरामा भन्दा पनि उच्च हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
खानालाई एल्युमिनियममा लामो समयसम्म बेरेर राख्दा त्यसमा हावा पास हुन पाउँदैन । र, ब्याक्टेरियाहरू खानाभित्र पस्छ । फलस्वरुप, छिट्टै खानेकुरा बिग्रिन सक्छ । सो खानेकुरा खाँदा पेटमा कब्जियत, अपच र ग्यासको समस्या हुन थाल्छ । साथमा यसले पाचन प्रणाली पनि खराब बनाउँछ ।
जब अम्लीय र नुनिलो खानेकुरामा लामो समयसम्म एल्युमिनियम फोयलमा राखिन्छ । यसमा रासायनिक प्रतिक्रिया हुन्छ । जसकारण स्वाद परिवर्तन भई कलेजो र मिर्गौला सम्बन्धित समस्या हुनसक्ने समेत अध्ययनहरूले देखाएका छन् ।
इजिप्टको ऐन शम्स युनिभर्सिटीका रसायनशास्त्र विभागका प्रमुख प्रोफेसर तथा अध्ययनकर्ता गडा बासियोनी भन्छन्, ‘हाम्रो भान्सामा धेरै चीज छन् जसबाट एल्युमिनियम शरीरमा पुग्छ ।
एल्युमिनियमको अत्यधिक एक्सपोजरले मानिसमा भ्रम, मांसपेशी कमजोरी, हड्डी दुखाइ, हुर्किंदै गरेका बालबालिकाको विकासमा असर गर्न सक्छ ।’
यस्तोमा खाना फोयलमा राखेर चुलोमा तताउनु र त्यसमा प्याक गरिएको खानेकुरा एल्युमिनियमको भाँडा वा प्यानमा खाना पकाउनुभन्दा बढी हानिकारक मानिने उनी बताउँछन् ।
‘खानेकुरा एल्युमिनियमकै भाँडोमा पकाउनु उचित छ । यसले कुनै हानि गर्दैन । तर खानेकुरा लामो समयसम्म सो पेपरमा राख्नु वा राखेर खानेकुरा पकाउनु घातक हुनसक्छ,’ उनी भन्छन् ।
यस्ता अध्ययनले खाना पकाउँदा एल्युमिनियम फोयलको नियमित प्रयोग स्वास्थ्यका लागि हानिकारक हुनसक्छ भन्नेबारे सचेत गराएको छ । यद्यपि, यही रोगको जोखिम हुन्छ भनेर किटान गर्न सक्ने कुनै बलियो प्रमाण अझै पुष्टि भइसकेको छैन ।एजेन्सीको सहयोगमा