काठमाडौं, २२ साउन २०८१ । देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ। पछिल्लो समय ललितपुरमा ३ जना संक्रमित थपिएपछि हैजा संक्रमितको संख्या ३० जना पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ।
इडिसिडीमा अनुसार यो वर्ष सबैभन्दा धेरै हैजा ललितपुरमा देखिएको छ। हालसम्म ललितपुरमा हैजा संक्रमित १९ जना पुगिसकेका छन्। ललितपुर र काठमाडौं गरी हालसम्म उपत्यकामा हैजा संक्रमितको संख्या २० पुगेको छ भने उपत्यका बाहिर कैलाली र प्यूठानमा पनि हैजा संक्रमित भेटिएका छन्।
इडिसिडीका अनुसार हाल सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौँमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ। यसैगरी कैलालीमा आठ र प्यूठानमा दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ।
प्यूठानमा थप दुईजनाको परीक्षण गर्दा हैजा पोजेटिभ देखिएपछि प्रयोगशाला परीक्षणका लागि लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
इडिसिडीका अनुसार हालसम्म देखिएका हैजा संक्रमित ५ देखि १४ वर्षका ७ जना छन्। यसैगरी १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना, ५५ देखि ६४ वर्ष र १४ वर्षमुनिका एक–एकजना रहेका छन्।
दूषित पानीका साथै फोहरबासी खानेकुरा तथा सरसफाइको कमीका कारण हैजा लाग्छ। पछिल्ला वर्षहरूमा वर्षातको समयमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा हैजा संक्रमण देखिन थालेको छ।