Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

काठमाडौँ, १८ साउन २०८१ । नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगुको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ ।

मन्त्रालयले विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति ल्याएको छ ।

यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरू सहितको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि सात वटै प्रदेश र सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ ।

डेंगु रोग रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय डेंगु टास्क फोर्स गठन भई क्रियाशील अवस्थामा रहेको छ । साथै स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली ९आरआरटी० परिचालन भइरहेको रणनीतिमा उल्लेख गरेको छ ।

स्थानीय तहमार्फत बहु निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि स्थानीय तहमा सात करोड ९८ लाख रकम विनियोजन गरिएको छ । साथै, ७७ वटै जिल्लाहरूमा पनि करिब दुई करोड बजेट विनियोजन गरिएको जनाएको छ ।

डेंगुबाट हुने मृत्युको जोखिमलाई कम गर्नका लागि निजी तथा सरकारी अस्पतालहरूका आठ सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पतालहरूलाई तयारी अवस्थामा राखेको मन्त्रालयले उल्लेख गरेको छ ।

डेंगु रोगको स्क्रिनिङ्गका लागि गत वर्ष छयालिस हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिसकिएको र यही साउन महिनामा १७ हजार किट वितरणका लागि केही जिल्लामा पठाएको जनाएको छ ।

यसैगरी, सङ्क्रमण उच्च रहेका जिल्लाका अस्पतालहरूबाट बिरामीहरूको रक्त नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत डेंगु भाइरसको प्रजातिबारे अध्ययन हुने गरेको पनि मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गत रहने गरी इन्टोमोलोजिकल ल्याब स्थापना भई सातै प्रदेशका तोकिएका अस्पतालमा ९सेन्टिनेल साइट० सर्भिलेन्सका कार्यहरू भइरहेको उल्लेख गरेको छ ।

गत वर्ष डेंगुका बिरामीहरू अत्यधिक देखिएका जिल्लाहरू सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की लगायत १३ जिल्लाका १२६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख, स्वास्थ्य संयोजक तथा सरोकारवालाहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गरी डेंगु प्रतिकार्यका अल्प तथा दीर्घकालीन योजना तथा नीति निर्माण सम्बन्धमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ ।

सचेतना अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत नेपाली भाषालगायत थप १२ वटा राष्ट्रियरभाषामा डेंगुसम्बन्धी रेडियो सन्देश, टोल फ्री हटलाइन टेलिफोन नं १११५, टी भी रेडियोहरूमा नियमित प्रसारण भइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया