Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, १० साउन २०८१ । देशभर डेंगी संक्रमितको संख्या एक हजार ८२५ जना पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार देशभर साउन ६ गतेसम्म देशभर १ हजार ६५७ जना संक्रमित थिए। यसरी ४ दिनमा १६८ जना अर्थात् दैनिक ४२ जना डेंगीका विरामी थपिएका छन्।

यो वर्ष ७३ जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौँमा २०९ जनामा संक्रमण पुष्टि भएको इडीसीडीले जनाएको छ। यसैगरी हाल डेंगी सबैभन्दा धेरै देखिएका जिल्लाहरूमा झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुंगामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगी पुष्टि भएको छ।​ यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ।

इडीसीडीका अनुसार हालसम्म मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छैन।

डेंगी रोग संक्रमण भएको एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झुल लगाएर सुत्ने, साँझबिहान पूरा बाउले कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिएमा डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ।

प्रदेशगत रूपमा हेर्ने हो भने हाल बाग्मती प्रदेशमा तीव्ररूपमा डेंगी फैलिएको देखिएको छ। बाग्मती प्रदेशमा हाल ५९३ जना, गण्डकीमा २९४ जना, मधेशमा ४३, कोशीमा ४६१, लुम्बिनीमा २०१, कर्णालीमा २३ र सुदूरपश्चिम प्रदेशमा २१० जना संक्रमित रहेका छन्।

 

तपाईको प्रतिक्रिया