काठमाडौँ, ८ साउन २०८१ । काठमाडौँ उपत्यकामा फेरि हैजाका बिरामी भेटिएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा। युवानिधि बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिकाका १६ वर्षीय बालकमा हैजा संक्रमण पुष्टि भएको हो। हाल उनको अस्पतालको क्याविनमा उपचार भइरहेको उनले बताए।
‘ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ स्थित थैबको एक पुनर्स्थापना केन्द्रमा बस्ने बिरामी आउनुभएको थियो, लक्षण हेर्दा हैजा जस्तो लागेर हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाएका थियौँ, पोजेटिभ आयो’ निर्देशक डा. बसौलालले भने।
त्यस्तै सोही स्थानबाट आएका अर्का एक जना संकास्पद बिरामीको पनि हाल आइसियुमा राखेर उपचार भइरहेको उनले बताए। ‘परीक्षणका लागि हामीले नमूना पठाएका छौँ तर रिपोर्ट आएको छैन’, डा. बसौलाले भने।
वर्षातको मौसम सुरु भएसँगै दूषित पानीका कारण पछिल्ला दिन टेकु अस्पतालमा झाडापखलाका बिरामी बढ्दै गएका छन्। काठमाडौँमा यसअघि सन् २०२२ मा हैजाले प्रकोपकै रूप लिएको थियो। त्यस समयमा सुरुमा बागबजारमा एकै परिवारका दुई दिदीबहिनीमा हैजा संक्रमण पुष्टि भएको थियो।
त्यसपछि बूढानीलकण्ठ, कालिमाटीलगायतका स्थानमा गरेर ७७ जना हैजाका बिरामी पुष्टि भएको थियो।






