Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

काठमाडौं, ८ साउन २०८१ । महिला एसिया कप क्रिकेटमा मङ्गलबार साँझ नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’को समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो।

दुई खेल खेलेको नेपाल एक जित र एक हारसहित तेस्रो स्थानमा छ। दुवै खेलमा जित निकालेको भारत चार अङ्कसहित शीर्ष स्थानमा छ। समान अङ्क भएको पाकिस्तान रनरेटका आधारमा दोस्रो स्थानमा छ।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। अघिल्लो चरण प्रवेशका लागि नेपालले भारतमाथि जित निकाल्नैपर्ने दबाब छ।

पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए सेमिफाइनल प्रवेश गर्नेछ। पाकिस्तान र यूएईको खेल जारी छ। नेपाल र भारतको खेल मङ्गलबार साँझ ७ः१५ बजे श्रीलङ्काको डम्बुला मैदानमा हुनेछ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा आठ टोली सहभागी छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् भने समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्।

समूह ‘बी’को श्रीलङ्का चार अङ्कसहित शीर्ष स्थानमा छ। थाइल्याण्ड र बङ्गलादेश समान दुई अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको मलेसिया अङ्कविहीन छ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला एसिया कप टोलीमा पूर्व कप्तान रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

 

तपाईको प्रतिक्रिया