Online Bichar
बिहिबार, कार्तिक २७, २०८३ | Thursday, November 12, 2026

गौरादह, १३ असार । गौरादह नगरपालिकालाई महालेखाको सुझाव तथा ऐन कानुनले छुदैन ।  महालेखाका सुझावलाई हाक्काहाक्की कार्यन्वन नगर्नुको पछाडि कुन अदृश्य शक्तिको हात छ ? महालेखाले प्रत्येक आर्थिक बर्षको लेखापरीक्षणमा गौरादहमा वार्षिक खरिद योजना र गुरुयोजना नभएको तथा आन्तरिक नियन्त्रण प्रणाली कमजोर भएको सुझाव पेश गरेको छ । महालेखाका सुझाव कार्यन्वयन नगर्दा पूर्व प्रधानमन्त्रीको निर्वाचन क्षेत्रबाट शुसाशनको कस्तो शन्देश जाला ?

महालेखाले तथ्यसहित प्रतिवेदनमा देखाइदिएको मोवाइल खरिदमा ५ लाख ७६ हजार खर्चलाई प्रष्टपार्न नसक्दा केही जिम्मेवार जनप्रतिनिधि महालेखाले गलत लेखेको हो भनेर थप गलत र सतही जवाफ दिन्छन् ।

आन्तरिक नियन्त्रण
महालेखापरीक्षणको प्रतिवेदनले गौरादह नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर देखाएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्षको प्रतिवेदनमा आन्तरिक नियन्त्रण प्रणालीका विषयमा सुझाव औंल्याए पनि गौरादहमा सुधार आउन सकेको छैन ।

गौरादह नपाको महालेखापरीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनको पृष्ठ ४ को ३ मा उल्लेख भएअनुसार– स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ बमोजिम पालिकामा आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्ने व्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०७८ वैशाख ३ मा आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७८ सबै स्थानीय तहहरुलाई(नमुना सहित) तर्जुमा गरी कार्यान्वयन गर्न परिपत्र गरेको छ ।

महालेखाका अनुसार हालसम्म गौरादह नगरपालिकाले सो बमोजिमको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका बनाई लागु गरेको छैन । जानाजान आन्तरिक नियन्त्रण प्रणाली नै नबनाउनुको कारण गौरादह नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा आर्थिक गतिविधि अनियमित गर्ने मनोबल बढेको हो ।

गौरादहमा जनप्रतिनिधिको दबाब, लेखाका कर्मचारीले सही ढंगले काम नगर्ने, आन्तरिक नियन्त्रण कार्यविधि नबनाउने, प्रणालीगत रूपमा सुधार आउन नसक्दा पनि आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदै गएको लेखाका जानकारहरु बताउँछन् ।

खरिदअनुसार गुरुयोजना र वार्षिक खरिद
त्यसैगरी महालेखाको लेखापरीक्षण प्रतिवेदन पृष्ठ ७ को ११ मा भनिएको छ – गौरादहले आर्थिक बर्ष २०७९÷८० मा पनि सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७ र ८ खरिदअनुसार गुरुयोजना र वार्षिक खरिद योजना तयार नगरी मनोमानी खरिद गरेको औँल्याएको छ । गौरादहले विभिन्न शीर्षक अन्तर्गत वार्षिक रु.३० करोड ६३ लाख ४९ हजार बराबरको पूँजीगत खर्च÷खरिद निर्माण कार्य गरेको छ । पालिकाले आफ्नो खरिद नियमावली नबनाएको अवस्थामा उक्त ऐन, नियम बमोजिम वार्षिक खरिद योजना र गुरु योजना नबनाई खरिद कार्य गरेको देखिएको हो ।सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७ र ८ बमोजिम हुनेगरी पालिकाले वार्षिक खरिद योजना र गुरुयोजना नबनाउनु भनेको भ्रष्टचार र अनियमिताको मुख्य आधार भएको कोष तथा लेखा नियन्त्रण कार्यलयका लेखा अधिकृतले बताए ।

संस्था दर्ता ऐन २०३४ को दफा ३ अनुसार पालिकाबाट सञ्चालित विभिन्न योजना निर्माण गर्न गठन गरेका उपभोक्ता समिति दर्ता गर्नुपर्छ तर भएको छैन । सञ्चालित योजनाको सूचनापाटीमा आयव्यय, अपेक्षित र वास्तविक लाभका साथै उपभोक्ताको योगदान र कार्यसम्पादनलगायत विषयमा स्पष्ट गरी सरोकारवालासहितको सार्वजनिक सुनुवाइ र सार्वजनिक परीक्षणलाई अनिवार्य गराउनुपर्नेमा गौरादह नपाले पालना नै गरेको छैन । नगरपालिकाले पालिकाहरूले तलबी प्रतिवेदन पारित गराएर मात्र तलब भुक्तानी गर्नुपर्नेमा त्यस्तोसमेत नगरीकन खर्च लेख्ने गरेको समेत महालेखाले उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया