Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

५ असार २०८१ । ‘एउटै शरीरमा अनेक आत्माको बास हुन्छ’ भन्नेबारे अधिकांशले कुनै न कुनै बेला सुनेको हुनुपर्छ । कतिपय ठाँउमा त भूतप्रेत वा दैवी शक्ति शरीरमा बास गरेको अन्धविश्वासमा निवारणका लागि तन्त्रमन्त्र जस्ता कुरा समेत गरेको पाइन्छ ।

तर यो कुनै भूतप्रेत नभई मानसिक रोग हो । कुनै कारणवश दिमागमा समस्या भएर मानिसमा यस्तो समस्या देखा पर्छ । जसलाई ‘डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर’ (डीआईडी) को नाम दिइएको छ ।

पहिले यसलाई ‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ पनि भनिन्थ्यो । तर अहिले नाम परिमार्जन गरी डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर (डीआईडी) भन्न थालिएको छ ।

के हो डीआईडी ?

डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर (डीआईडी) एक मानसिक समस्या हो । जसमा एक व्यक्तिमा दुई वा त्यसभन्दा बढी व्यक्तित्व रहन्छ । यसमा हुने समस्यालाई ‘डिसोसिएसन’ भनिन्छ । यसको अर्थ मानसिक प्रक्रियाहरुमा दिमाग अति सचेत हुनु, धारणा र स्मरणशक्तिबाट आफूलाई अलग गर्नु भन्ने हुन्छ ।

डीआईडीको कारण

डीआईडीको समस्या हुने कैयौं कारण हुनसक्छन् । तर यसको सबैभन्दा ठूलो कारण हो आघात । यसको मतलब कुनै पनि किसिमको शारीरिक वा मानसिक झट्का । विशेषगरी यो बाल्यकालमा हुने शारीरिक, मानसिक वा यौन शोषणको कारणले हुनसक्छ ।

एक अध्ययनले अमेरिका, क्यानडा र युरोपमा यो समस्याबाट पीडित लगभग ९० प्रतिशतमा बाल्यकालमा (शारीरिक, यौन वा भावनात्मक) दुर्व्यवहार भएको थियो । केहीमा भने दुर्व्यवहार भएको थिएन तर उनीहरूले कुनै पनि ठूलो क्षति (जस्तै बाबु वा आमाको अकाल मृत्यु) जस्ता गम्भीर आघात भएको देखिएको थियो ।

यस्ता दुर्व्यवहारमा परेका बालबालिकामा विभिन्न संवेदना, नराम्रो घटनाको सम्झना र भावनाले जरा गाडेको हुन्छ । जुन बिस्तारै हाबी हुँदै उनीहरुमा फरक-फरक व्यवहार (हाँस्ने, रुने, कराउने, हिंस्रक हुने) देखाउने हुन्छ ।

त्यस्तो समस्यमा देखिएका बालबालिकालाई समयमै पहिचान गरी संरक्षण र उपचार दिए भविष्यमा यो समस्या जटिल बन्दैन ।

घटना १

ऋषिभ (नाम परिवर्तन) लाई बाल्यकालदेखि नै बाबुआमाले कुटपिट गर्थे । उनी शान्त स्वभावका भएकाले चुपचाप सहेरै बस्थे । जब उनी १८ वर्ष पुगे तब उनको दिमागले सो कुरालाई नियन्त्रण गर्न सकेन र उनमा अर्कै व्यक्तित्व विकसित हुँदै गयो । यो व्यक्तित्वले बाबुले कुटपिट गर्दा सामना गर्थ्यो । बिस्तारै बाबुले कुट्दा उसले पनि हात उठाउँथ्यो, जसलाई देखेर बाबु हैरान हुन्थे ।

घटना २

शहनाज (नाम परिवर्तन) कट्टर मुस्लिम परिवारकी सदस्य हुन् । उनको बाल्यकालमा नै नातेदारसँग विवाह तय भएको थियो । यो समस्याका कारण शहनाजले दोस्रो व्यक्तित्व विकास गरिन् । जब उनी घर बाहिर निस्किन्, शहनाजले हिंसात्मक व्यवहार गर्थिन् । उनी र उनका परिवारका सदस्यहरूले केही समयका लागि शरीरमा प्रेतात्मा आएको भने । स्वास्थ्य परीक्षणपछि शहनाजलाई डीआईडी भएको थाहा भयो ।

घटना ३

डेनियल (नाम परिवर्तन गरिएको) बेलायतका बासिन्दा हुन् । स्कुलमा उनलाई निकै होच्याउने, जिस्क्याउने (बुलिङ) गरिन्थ्यो । उनी अरु बालबालिकाका अगाडि कहिल्यै उभिन सक्दिनन् । जसकारण उनमा विस्तारै दुई नयाँ व्यक्तित्व विकास भयो, जसले साथीको बुलिङबाट बचाउँथ्यो । अर्को व्यक्तित्वले वृद्धको जस्तो जीवन कसरी बाँच्ने भनेर सिकाउँथ्यो ।

के फिल्ममा डीआईडीलाई सही तरिकाले प्रस्तुत गरिन्छ ?

यो विषय निकै रोचक हुने भएकाले फिल्ममा यो विकारलाई अतिरञ्जित ढंगले देखाइन्छ । फिल्महरुमा डीआईडीको व्यक्तित्व ‘राक्षस’को रुपमा प्रस्तुत हुन्छ । तर यथार्थमा यस्तो हुँदैन ।

यो रोगमा यस्ता समस्या भएकालाई उनीहरुको कुन व्यक्तित्वले के गर्छ ? भन्ने थाहा हुँदैन भन्ने धारणा हुन्छ । तर त्यस्तो होइन, उनीहरुलाई सबै कुरा याद हुन्छ ।

उपचार के हुन्छ ?

डीआईडीको उपचारमा ‘डिप साइकोथेरापी’ चाहिन्छ । जसअन्तर्गत मानसिक थेरापी, पारिवारिक थेरापी ९लक्षित व्यक्तिको भावना बुझ्ने, सहज वातावरण गराउने०, रिल्याकसेसन टेक्निक र ध्यान गराउने जस्ता विधि अपनाइन्छ । व्यक्तिको अवस्था हेरेर औषधि पनि प्रयोग गरिन्छ । साथै, बिरामीलाई आघातबाट उत्प्रेरित हुन नदिने तालिम दिइन्छ ।

समस्या पहिचान हुन कठिन

डीआईडीका बिरामीलाई समाजमा पागल भनेको देखिन्छ । डीआईडीका अधिकांश बिरामी ग्रामीण क्षेत्रका भएकाले कुनै न कुनै आघातबाट पीडित छन् । तर विडम्बनाको कुरा चेतनाको अभावले यस्ता बिरामी कहिल्यै अगाडि आउँदैनन् । जसकारण यस्ता मानसिक स्वास्थ्य सेवाको पहुँच समेत छैन ।एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया