Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ६ जेठ २०८१ । यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमअन्तर्गत खोटाङ जिल्लाका सात हजार सातसय १३ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रमअन्तर्गत खोटाङमा पनि खोप कार्यक्रम तय गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई हजार एक सय १२ तथा हलेसी तुवाचुङ नगरपालिकाका एक हजार दुई सय ४८ बालबालिकालाई आइपिभी खोप लगाउने तयारी गरिएको जनाइएको छ । केपिलासगढी गाउँपालिकाका पाँच सय ८९, ऐँसेलुखर्कका पाँच सय ५७, रावाबेँसीका चार सय ४३, साकेलाका चार सय ४९, दिप्रुङ चुइचुम्माका छ सय ९५, खोटेहाङका छ सय ८८, जन्तेढुङ्गाका पाँच सय नौ र बराहपोखरी गाउँपालिकाका चार सय २३ बालबालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यही जेठ १३ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमका लागि जिल्लामा दुई सय ५७ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिए । खोप कार्यक्रमका लागि हरेक खोप केन्द्रमा एक/एक स्वास्थ्यकर्मी तथा दुई÷दुई महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्धारित कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले जानकारी दिए । “विसं २०७३ वैशाखदेखि विसं २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन, सरकारले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो”, उनले भने, “यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन, पोलियो थोपा खुवाइरहेका बालबालिकालाई खोप लगाउन पर्दैन कि भन्ने हुनसक्छ, खोप र पोलियो थोपा फरक हो, पोलियो थोपा खुवाइरहेकालाई पनि खोप लगाउनुपर्छ ।”

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४८ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए । प्रत्येक वडामा तीनरतीन दिन खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया