Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

जनकपुरधाम, ३ जेठ २०८१ । सिराहामा खेतको सीमा सम्बन्धी विवाद हुँदा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ।

बिहीबार बिहान अर्नमा गाउँपालिका वडा नम्बर २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतक महतो टोलका केही व्यक्तिसहित ट्याक्टर लिएर खेतमा खर लोड गर्न पुगेका थिए।

उनी र स्थानीय बचाई महतोबीच खेतको सीमा सम्बन्धी लामो सयमदेखि विवाद थियो। बुधराम खेतमा गएको थाहा पाएपछि बचाई पनि खेतमा पुगेका थिए।

जसक्रममा बचाईले बुधराममाथि कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए।

‘उनीहरूबीच धेरै पहिलेदेखि जग्गा सम्बन्धी विवाद रहेछ। बुधराम खरको भाग लगाउन केही मान्छेसहित ट्याक्टर लिएर खेतमा पुगेका थिए। अर्को मान्छे पनि कताबाट आइपुगेछन्। दुबै जनाबीच विवाद भयो र बचाईले कादोलो प्रहार गरेको प्रत्यक्षदर्शीले देखेछन्,’ उनले भने।

घटनापछि बचाई महतो फरार छन्। उनको खोजी भइरहेको एसपी पण्डितले बताए।

बुधराम अर्नमा गाउँपालिकास्थित रहेको विष्णुपुर चोकमा ग्यास सिलिन्डर, बिउबिजन तथा किटनाशक औषधीको पसल सञ्चालन गर्दै आएका थिए।

 

तपाईको प्रतिक्रिया