Online Bichar
मंगलबार, जेठ ०८, २०८१ | Tuesday, May 21, 2024

विराटनगर, २८ वैशाख २०८१ । मोरङको लेटाङमा रहेको एउटा सुधार केन्द्रबाट शुक्रबार बिहान ७ जना फरार भएका छन् । दुव्र्यसनमा फसेकाहरूलाई सुधार्नका लागि केन्द्रमा राख्ने गरिएको थियो । लेटाङ नगरपालिका–९ जाँतेमा सञ्चालन गरिएको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रबाट बिहान ६:१५ बजेतिर उनीहरु फरार भएका हुन् ।

फरार हुनेमा लेटाङ–५ का दिलसन तामाङ, पालदेन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का मदन कार्की, विशाल कार्की, कानेपोखरी गाउँपालिका–७ सरोज लिम्बू र केराबारी गाउँपालिका–१० का अनुप परियार रहेका छन् ।

भागेकामध्ये केहीलाई लामो समयदेखि सुधार केन्द्रमा राखिएको थियो । तीमध्ये दिलसनलाई २०८० माघ १५, अनिललाई फागुन १५, मदनलाई फागुन २६, विशाललाई माघ १८, सरोजलाई माघ २९, अनुपलाई असोज ११ गते र पालदेनलाई गत वैशाख १४ गतेदेखि सुधार केन्द्रमा राखिएको थियो । सबैभन्दा धेरै समय अनुप बसेको देखिन्छ । अनुपलाई लगभग साढे ७ महिनादेखि राखिएको थियो ।

सुधार केन्द्रका सञ्चालक रेवत राईका अनुसार लागूऔषधलगायतको दुव्र्यसनमा फसेकाहरुलाई केही समयदेखि सुधारका लागि राखिएको थियो । ‘फरार हुनेमध्ये केही सुधारको समयावधि पुगेकाहरु पनि छन् । उनीहरुलाई स्वयंसेवकको हिसाबले काम गर्न लगाउने गरिएको थियो,’ राईले भने, ‘अचानक उनीहरु भागेछन् । अहिलेसम्म फेला पार्न सकिएको छैन ।’

अभिभावक र परिवारका सदस्यलाई जानकारी गराएर फरार भएकाहरुको खोजी तीव्र पारिएको उनले बताए । भागेकाको खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर भीमलाल ओलीको नेतृत्वमा पनि टोली खटिएको छ । घटनाका बारेमा प्रहरीले बिहान १० बजेतिर मात्रै जानकारी पाएको थियो ।

केन्द्रका सञ्चालक राईका अनुसार खोजी थालिए पनि फरार भएकाहरु नभेटिएपछि प्रहरीलाई घटनाको जानकारी गराइएको हो । सुधार केन्द्रमा १८ जना थिए । ७ जना फरार भएको र ११ जना सुधार केन्द्रमै रहेको जानकारी राईले दिए । उनका अनुसार सुधार केन्द्र डेढ वर्षदेखि सञ्चालित छ । ‘सुधार केन्द्रमा रहेकाहरु मध्येबाट नै गार्ड खटाउने गरिएको थियो । चाबी उनीहरूसँगै हुन्थ्यो,’राईले भने, ‘आफूखुसी पछाडिको ढोकाको चाबी खोलेर भागेछन् । यस विषयमा हामीलाई पनि निक्कै पछि मात्रै जानकारी भयो ।’

स्थानीयले भने सुधार केन्द्रमा दिने गरिएको यातना सहन नसकेर त्यहाँ राखिएकाहरू भागेको हुनसक्ने अनुमान गरेका छन् । सुधार केन्द्रमा राखिएकालाई यातना दिने गरिएको थियो कि थिएन भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । केन्द्रको लापरबाहीका कारण त्यहाँ राखिएकाहरु भागेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

केन्द्रका सञ्चालक राईले भने कसैलाई पनि कुटपिट नगरिएको र यातना नदिएको बताए । घटनाको प्रकृति हेर्दा सबै जना सल्लाह गरेर भागेजस्तो देखिने उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया