Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौँ, २४ वैशाख २०८१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदा लिएर अन्य स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरू सबैलाई निर्देशनात्मक सूचना पठाउँदै बिदा लिएर निजी स्वास्थ्य संस्था तथा गैर सरकारी संस्थामा काम गर्न कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

मन्त्रालयअन्तर्गतका कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अध्ययन, असाधारण, घर बिदामा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिएर बाहिर काम गरेको गुनासो प्राप्त भएको यस्तो निर्देशन दिएको उहाँको भनाई छ ।

उहाँले स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधीनमा हुने र बिदा अधिकारको कुरा होइन सहुलियत मात्रै हो भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभएको छ ।

पत्रमा जुन उद्देश्यका लागि बिदा लिइएको सोही प्रयोजनमा उपयोग गर्नु पर्ने हुन्छ भन्दै एउटा बिदा लिएर अर्को काम गरेको भेटिए बिदा रद्द गरी कारबाही हुने उल्लेख गर्नुभएको छ ।

सचिव बुर्लाकोटीले स्वदेशी तथा विदेशी निजी स्वास्थ्य संस्थाहरूले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेको देखिएमा मन्त्रालयमा तथा सम्बन्धित निकायमा जानकारी गराउन समेत आम सर्वसाधारणसँग अनुरोध गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया