Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

सुरुङ्गा (झापा), २४ वैशाख २०८१ । ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

झापाको बिर्तामोड नगरपालिकामा मात्रै गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६४ रोगीलाई औषधि उपचार खर्चबापत मासिक पाँच हजार उपलब्ध गराइएको छ । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका अधिकृत राजीवकुमार विष्टका अनुसार बिर्तामोड नगरपालिकाले अघिल्लो आर्थिक वर्ष यस्ता रोगीका लागि झन्डै एक करोड वितरण गरेको हो ।

यो आर्थिक वर्षका लागिसमेत नसर्ने गम्भीर प्रकृतिका दीर्घरोगीको औषधि उपचार खर्चबापत प्रदान गरिने रकम सरकारसँग माग गरिएको उहाँको भनाइ छ । बिर्तामोड नगरपालिकाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने यहाँ क्यान्सर रोगीको सङ्ख्या धेरै पाइएको छ । बिर्तामोडमा एक सय २६ जना क्यान्सर रोगीले सरकारले उपलब्ध गराउँदै आएको मासिक पाँच हजार नियमित लिँदै आएका छन् । बिर्तामोडमा क्यान्सर पछि मिर्गौला रोगी धेरै देखिएका छन् ।

नगरका ३४ जना मिर्गौला रोगीले सरकारले उपलब्ध गराएको औषधि उपचार सुविधा लिँदै आएका छन् । चार जनामा मेरुदण्डको पक्षाघात देखिएको छ । उनीहरुलेसमेत मासिक पाँच हजार औषधि उपचारका लागि खर्च लिँदै आएका छन् । चालु आर्थिक वर्षका लागि पनि यस्ता रोगीले पाउँदै आएको रकम प्रदान गर्ने तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अधिकृत विष्टका अनुसार सुविधा पाउँदै आएका रोगीका विषयमा बुझ्ने काम भइरहेको र उनीहरूलाई जतिसक्दो चाँडो रकम प्रदान गर्ने तयारी भइरहेको छ ।

सरकारले गम्भीर प्रकृतिका बिरामीका लागि औषधि उपचार गर्न सहयोग पुर्‍याउने उद्देश्यले २०६८ सालमा कार्यविधि बनाएर यस्ता रोगीलाई औषधि उपचार खर्च प्रदान गर्दै आएको छ । सोही कार्यविधिअनुसार हाल देशभर रहेका ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक पाँच हजार उपलब्ध गराउँदै आएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि तयार गर्दै अघिल्लो आर्थिक वर्षबाट यस्ता बिरामीलाई मासिक पाँच हजार उपलब्ध गराउँदै आएको हो । मन्त्रालयले तयार गरेको कार्यविधिको दफा २ ९ख० मा मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका र क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइसकेका बाहेकका चिकित्सकले तीन/तीन महिनाभित्र निरन्तर निगरानी ‘क्लोज फलोअप’ राखेका व्यक्तिलाई यो सुविधा प्रदान गर्ने गरिएको छ ।

यसैगरी, मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचयपत्रवाहक) व्यक्तिलाई पनि सरकारले औषधि उपचार खर्च प्रदान गर्दै आएको छ तर सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा सङ्गठनबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी ‘पेन्सन’ प्राप्त गरिरहेको व्यक्तिले भने यस सुविधा लिन नसक्ने कार्यविधिमा उल्लेख छ ।

यसै गरी, सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एक रोज्नुपर्नेछ । एकभन्दा बढी रोग लागेकाले पनि दोहोरो भत्ता नपाउने कार्यविधिमा उल्लेख छ । नसर्ने रोगका कारण नेपालमा वार्षिक एक लाख ३७ हजार जनाको मृत्यु हुने गरेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कमा वार्षिक कूल मृत्युदरको ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ ।रासस

 

तपाईको प्रतिक्रिया