Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

काठमाडौं, १४ वैशाख २०८१ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर बचतकर्ताको पैसा फिर्ता गराउने तयारी भइरहेको बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सहकारी समस्या समाधान गर्ने विषयमा गम्भीर छलफल भएको उनले बताए।

‘सहकारीसम्बन्धी समस्याको समाधान गर्न सिंगो क्याबिनेट लाग्नुभएको छ। हिजोको बैठकमा पनि यस विषयमा गम्भीर छलफल भयो। सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं,’उनले भने।

गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकको सम्पत्ति जफत गर्ने कानुन बनाएर छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए। उनले सञ्चालकका आफन्तका नाममा रहेका सम्पत्ति पनि जफत गरिने बताए। ‘सहकारी सञ्चालक र तिनका आफन्तको सम्पत्ति पनि जफत गर्ने भनेका छौं। किनकि आजकल आफन्तका नाममा सम्पत्ति लुकाउने प्रचलन बढ्दो छ। आफन्तको नाममा पैसा राखेर आफू बचेँ भनेर नठाने हुन्छ,’उनले भने।

उनले सरकारले चाहे कसको नाममा कति अवैध सम्पत्ति रहेको पत्ता लगाउन सक्ने बताए। ‘कोही रातारात कसरी धनी भयो। सबै खोजी हुन्छ। कानुन बनेपछि तत्काल तिनीहरूको सम्पत्ति जफत गर्ने, रोक्का गर्ने अनि बचत पैसा फिर्ता दिने काम सुरू हुन्छ,’ उनले भने।

उनले पैसा तिर्न चाहने सहकारी सञ्चालकका लागि सरकारले समन्वय गर्नेसमेत बताए। ‘कसैले हामी तिर्छु भन्नेहरू पनि हुन सक्छन्। उनीहरूलाई पनि समेटेर लैजान्छौं,’उनले भने।

 

तपाईको प्रतिक्रिया