Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौँ, ३ वैशाख २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन अर्को बृहत् खोप अभियान संचालन गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असार मसान्तसम्ममा देशभरिका १४ लाखभन्दा बढी बालबालिकालाई एकै पटक इनएक्टिभेटेड पोलियो (आईपिभी) भ्याक्सिन दिने भएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेकलाल कर्णले बताए।

नेपालमा सन् २०१४ मा यो भ्याक्सिन लगाउन शुरु गरिएको थियो तर विश्व बजारमा यो आईपीभी भ्याक्सिनको अभावले नेपालमा निरन्तरता पाएको थिएन।

सन् २०१४ मै शुरु गरे पनि सन् २०१६ देखि सन् २०१८ को मध्यसम्म विश्वव्यापी अभावका कारण भ्याक्सिन लगाउन रोकिएको थियो। यसपटक भने विश्व बजारमा यो खोप उपलब्ध हुन थालेपछि यसअघि लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो।

यो खोप पनि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) को सहयोगमा आउने बताइएको छ। यसअघि पनि यो खोप गाभीकै सहयोगमा आएर लगाइएको थियो।

तर अन्तरराष्ट्रिय बजारमै खोपको अभाव भएको भन्दै पठाउन छाडेपछि यो खोप सन् २०१६ देखि नै बन्द भएको थियो।

महाशाखा प्रमुख डा कर्णले भने‚ ‘चालु आर्थिक वर्षभित्रै यो खोप लगाइन्छ। कुन मितिमा लगाउने भन्ने कुरा खोप आउने मिति निश्चित भएपछि हामी खोप अभियानको मिति सार्वजनिक गर्छौँं।’

यस पटक २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको डा कर्णले बताए। खोप अभियान विद्यालयस्तरमा लगेर लगाइने र विद्यालय नगएका बालबालिकालाई भने नजिकको स्वास्थ्य संस्थामा गएर लगाउने व्यवस्था मिलाइने उनले बताए।

बालबालिकाको उमेर १४ हप्ताको भएपछि उनीहरुलाई यो खोप लगाउन सकिने बताइएको छ। त्यसअघि मुखबाट दिइने ओरल खोपमात्र थियो।

विस्तारै मुखबाट दिने पोलियोका ३ प्रकारमध्ये टाइप वन, टाइप टू र टाइप थ्रीमध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन ९टाइप वन र टाइप थ्री० मुखबाट खुवाइने पोलियो थोपा (ओपीभी) खोप नियमित रुपमा संचालन भइरहेको छ।

टाइप टू नेपालमा धेरै अघिदेखि नदेखिएको भए पनि यसको मृत पोलियो परजीवी मिसिएको आईपीभी भ्याक्सिन लगाउन थालिएको थियो। विश्व स्वास्थ्य संगठनले नै सो खोप प्रयोग गर्न विश्व समुदायलाई आह्वान गर्दै आएको छ। यो पोलियो खोप भने टाइप वन पोलियो परजीवीका लागि हो।

पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो। यो रोग लागेमा हातखुट्टा लुलो र पक्षघात हुनुको साथै मृत्युसमेत हुनसक्छ।

पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन। पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको तालिकाअनुसार पोलियो रोगविरुद्ध वेलैमा खोप‍ लगाउनु नै हो।

 

तपाईको प्रतिक्रिया