Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठ्माडौं, ३० चैत २०८० । पञ्जीकरण विभागले २०८१ वैशाख १ गतेदेखि एक साता देशभर घटना दर्ता सम्बन्धी सचेतना सञ्चालन गर्ने भएको छ। जन्म, मृत्यु, विवाह लगायतका व्यक्तिगत घटना समयमा नै दर्ता गराउनका लागि साताव्यापी सचेतना चलाउने विभागले जनाएको हो।

पञ्जीकरण विभागले मुलतः राष्ट्रिय परिचयपत्र, समाजिक सुरक्षा र पञ्‍जीकरण (व्यक्तिगत घटना दर्ता) सम्बन्धी कार्यको समन्वय र व्यवस्थापन गर्ने काम गर्छ।

व्यक्तिगत घटना घटेको निश्चित समयभित्रै सरल, सहज र प्रभावकारी ढंगले व्यक्तिगत घटना दर्ता गर्न रगराउन आम सर्वसाधारणको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतदेखि नै वैशाख महिनाको पहिलो साता विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको विभागका महानिर्देशक युवराज कटेलले जानकारी दिए। यो साता पनि घटना दर्ता सम्बन्धी विविध कार्यक्रम गरी घटना दर्ता सप्ताह मनाइने उनले बताए।

अहिले मुलुक भित्र ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा कार्यालयहरूबाट सबै किसिमका व्यक्तिगत घटना दर्ता भइरहेको र विभिन्न १५ कूटनीतिक नियोगबाट समेत जन्म र मृत्युको दर्ता सुरू गरिएको विभागले जनाएको छ।

मुलुकका ६ हजार ७४३ वडा मध्ये हाल ६ हजार ६९४ वडाहरूबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली समेत सुरू गरिएको छ। बाँकी ४९ वडाहरूबाट सम्बन्धित स्थानीय तहहरूको समन्वयमा छिट्टै अनलाइन घटना दर्ता गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

हालसम्म ३२ लाख ९२ हजार १८ जन्म, ८ लाख ५३ हजार १२७ मृत्यु, १३ लाख १४ हजार ८६४ विवाह, ६५ हजार ८८० सम्बन्ध विच्छेद र सात लाख ९ हजार २१२ बसाइसराइका घटना अनलाइनमार्फत दर्ता गरिएको छ।

 

तपाईको प्रतिक्रिया