Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

३० चैत २०८० । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिएका हुन् ।

छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताए । आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आाउने उनको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ ।

सरकारले आठमौजा छोटी भन्सार कार्यालय नाकाको रुपमा विस्तार गर्ने निर्णय लिएपनि पछिल्लो करिब चार वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो । छोटी भन्सार बन्द भएपछि सिमाबाट अवैध आयातनिर्यात हुने क्रम बढ्दै गएको छ ।

उद्योग वाणिज्य सङ्घ गौरीगञ्जका अध्यक्ष मखना महतोले छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किदै गएको बताए । भन्सार नहुँदा नाकाबाट अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।

लामो समयदेखि भन्सार कार्यालय नहुँदा स्थानीयले सास्ती भोगिरहेका थिए । गौरीगञ्जदेखि पाँच किलोमिटर दक्षिण भारतीय बजार फत्तेपुरको मुख्य ग्राहक नेपाली नै मानिन्छन् । सीमाका भारतीय वजारबाट लत्ताकपडा, तेल, लसुन, चिनीलगायत खाद्यवस्तु ठूलो परिमाणमा आयात हुँदै आएको छ ।

आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकारुपमा स्थापित गर्न नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेको छ ।रासस

तपाईको प्रतिक्रिया