Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

डोल्पा, २९ चैत २०८० । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालक गम्भीर घाइते भएका छन्। गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एकै घरका दाजुभाइ घाइते भएका हुन्। घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवश बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।

दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएका वेला उनीहरू आगलागीमा परेका थिए। घाइते तीनैजनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ। उनीहरूको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाले अस्पताल लैजान हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए। सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण डोल्पा आउन नसकेको उनले बताए।

डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीनजनाको मृत्यु भएको थियो।

 

तपाईको प्रतिक्रिया