Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

बिर्तामोड, २० चैत २०८० । झापा बिर्तामोडका एक जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरोकारवालालगायतलाई अभिमुखीकरण तथा सक्रिय खोजपडताल परीक्षण कार्यक्रम अघि बढाएको छ ।

आज वडा नम्बर ५ को वडा कार्यालयमा वडा अध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार रोग फोकल पर्सन बिरेन्द्र दासले रोगका विषयमा सम्पूर्ण जानकारी दिए ।

स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किटमार्फत रगत परीक्षणसमेत गरेको छ । परीक्षण गरिएका सबैमा संक्रमण नदेखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिए । परीक्षणमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयका प्रयोगशाला सहायक चन्द्रशेखर कुमार यादवले जानकारी दिए ।

प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्ड फ्लाई’ नामको पोथी भुसुनाको टोकाईबाट मानिसमा कालाजार संक्रमण हुने गर्दछ ।

तपाईको प्रतिक्रिया