Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

बिर्तामोड, २० चैत २०८० । आज अप्रिल २ अर्थात ‘विश्व अटिजम सचेतना दिवस’झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासकालागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो ।

अटिजम बारे सचेतना जगाउने र यसको बारेमा अधिकतम मानिसहरूमा जानकारी दिने उद्देश्यले र्‍याली सहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए । हनुमान कम्प्लेक्सबाट सुरु भएको र्यालीवान स्टप मलबाट पूर्वमा पुरानो इलाका प्रहरी कार्यालयबाट पुनःहनुमान कम्प्लेक्स अगाडी आएर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा करिब १५० जना सहभागी थिए ।

कोणसभालाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अटिजम कुनै रोग नभई मस्तिष्क विकासको एउटा अवस्था भएको भन्दै सानै उमेरमा यसको पहिचान गर्न सके थेरापीको माध्यमबाट उनीहरूको जीवनयापनमा सहजता ल्याउन सकिने बताए । बालबालिकाको पढ्न पाउने अधिकारको सम्मान गर्दै बिर्तामोड नगरपालिकाले बिर्ता बजार स्थित महेन्द्र रत्न माविमा अटिजम स्रोत कक्षा सरोकारवाला निकायसँग समन्वय गरि सञ्चालन गरिरहेको उनले बताए । उनले उक्त स्रोत कक्षाको स्तर वृद्धिका लागि पालिकाले थप सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । र्‍यालीमा सहभागीहरूलाई अटिजमको बारेमा अधिकतम प्रचार गर्न उनले आग्रह गरे ।

एसएनजेडीका कार्यक्रम संयोजक चुडालले धेरै अभिभावकहरूले अटिजमको बारेमा थाहा नपाउँदा बालबालिकाको अवस्था जटिल बनिरहेको बताए । सानै उमेरमा अटिजमको बारेमा जानकारी पाएमा विभिन्न थेरापीको माध्यमबाट उनीहरूको जीवनयापनमा सहजता ल्याउन सकिने भन्दै यसको व्यापक प्रचारप्रसारको आवश्यकता रहेको उनले बताए । कार्यक्रममा सहभागी इकमकलेज, मनकामना कलेज, आदर्श स्कुल अफ होटल म्यानेजेमेन्टका विद्यार्थी तथा विद्यालयका प्रतिनिधिलगायत सम्पूर्ण सहभागीहरूलाई उनले धन्यवाद दिए ।

कार्यक्रममा सहभागीहरूले विभिन्ननारा लेखिएको प्लेकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए । अभिभावकहरूले अटिजमको थिमतथानारा उल्लेखित टीसर्ट लगाएका थिए । कार्यक्रममा अटिजम भएका बालबालिका, अभिभावक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, कलेजका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै एसएनजेडीले सञ्चालन गरिरहेको प्यारेन्ट चाइल्ड ट्रेनिङ सेन्टर र महेन्द्र रत्न माविको अटिजम स्रोत कक्षामा भएका बालबालिका तथा अभिभावकहरूबिच सचेतना कार्यक्रमसमेत सम्पन्न गरेको छ । अटिजम भएका बालबालिका तथा अभिभावकहरूले विभिन्न नारा र सचेतना लेखिएको प्ले कार्ड प्रदर्शन तथा अटिजमको थिमनिलो रङभएको क्याण्डल बालेका थिए ।

अप्रिल महिना अटिजम सचेतना महिनाभएकाले एसएनजेडीले अस्ट्रेलियन दूतावाससँगको सहकार्यमा बिर्तामोडको भाटभटेनी सुपरमार्केट, वान स्टप मल, हनुमान कम्प्लेक्स, विभिन्न कलेजहरूमा अटिजमका लक्षण तथा विभिन्न सचेतनामूलक जानकारी उल्लेखित स्टेण्ड बोर्ड राखेको छ । उक्त बोर्डमा फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दा बढी लाइक, शेयर तथा कमेन्ट प्राप्त गर्ने पोस्टलाई क्रमशः चार हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एसएनजेडीका कार्यक्रम अधिकृत रञ्जन धमलाले जानकारी दिए ।

यो महिनाभर अटिजम सचेतना मूलक विभिन्न पोस्टर तथा पर्चाहरू समेत वितरण गरिने धमलाले बताए ।

तपाईको प्रतिक्रिया