Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, २६ माघ २०८० । अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको छ। ई‍-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए।

बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई-भिसा लागू गर्न लागेको महानिर्देशक तामाङले बताए । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने महानिर्देशक तामाङले बताए।

यो भिसा प्रणाली लागु भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन्। यो सेवाको औपचारिक आरम्भ शुक्रबार बिहान ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम छ।

केही समय अघिदेखि परीक्षणका रूपमा शुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि औपचारिकता दिन लागेको महानिर्देशक तामाङले बताए । अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित बनाएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया