झापा, १० जेठ २०८३ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचिपुल नजिक लागुऔषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन्।
आज ३:३०बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध ब्युरो इकाइ काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी रिक्सा मार्फत आउँदै गरेका दुई जनालाई शंकास्पद गतिविधिका आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा जिल्ला काठमाडौँ महानगरपालिका–२५ असनचोक बस्ने ४० वर्षीय अजय चित्रकारको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिकसहित १५ ग्राम १०० मिलिग्राम र प्लास्टिक बाहेक १२ ग्राम ४२० मिलिग्राम रहेको बताइएको छ।
त्यसैगरी सोही स्थानबाट ३७ वर्षीय शुशिल मानन्धरलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






