Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १ माघ २०८० । झापाको माई मेलामा हरेक वर्ष पार्किङ शुल्क असुल्ने मै विवाद हुन्छ। धार्मिक मेलाको नाममा ठेकेदारले सवारीसाधनबाट मनपरी पार्किङ शुल्क असुल्दा कनकाई नगरपालिकाले रकम नै तोकेर सूचना आव्हान गर्ने कार्यको सुरुवात गरेको हो।

नगरपालिकाले यस वर्ष पनि सूचना निकाल्दा कुन सवारीसाधनबाट कति रकम असुल्ने भनी रकम नै तोकेर सूचना निकालेको थियो। तर, मेला ठेकेदारले यस वर्ष पनि नगरपालिकाको नियमको धज्जी उडाउँदै आफूखुसी रकम असुलेको पाइएको छ।

नगरपालिकाले न्यूनतम १० लाख रुपैयाँ तोकेर पुस ६ गते प्रथम पटक माई मेला सञ्चालनको शिलबन्दी दरभाउ पत्र सम्बन्धी सूचना निकालेको थियो। प्रथम पटकमा ठेक्का नलागेपछि नगरपालिकाले पुस २३ गते पुनः दोस्रो पटक सूचना निकालेको थियो। त्यस सूचनामा सवारीसाधनबाट असुल्ने पार्किङ शुल्कको दररेट कायम गरिएको थियो।

जसमा साइकल २० रुपैयाँ, मोटरसाइकल ५० रुपैयाँ, कार, जिप, भ्यान लगायत साना सवारीलाई १०० रुपैयाँ र ठूला सवारीसाधन बस, ट्रक बापत २०० रुपैयाँ लिने गरी दररेट सूचना उल्लेख छ। तर मेला ठेकेदारले कनकाई धार्मिक रमाइलो माई मेला २०८० उल्लेख गरिएको रसिदमा एक सयदेखि तीन सय रुपैयाँसम्म रकम असुलेको परेको छ। स्कुटर तथा मोटरसाइकल बापत रसिद नम्बर २७१२ बाट १०० रुपैयाँ र रसिद नम्बर १२२० बाट कार, भ्यान जिप लगायत साना सवारीको ३०० रुपैयाँ लिएको रसिद फेला परेको छ।

मोटरसाइकलमा तोकिएको भन्दा ५० र साना सवारीमा १०० रुपैयाँ बढी शुल्क मेला ठेकेदारले उठाएको रहेछ। सूचनाको ८ नम्बर बुँदा प्रस्ट भनिएको छ कि नगरपालिकाको उपलब्ध गराएको दररेटको अधीनमा रही रकम असुल गर्नु पर्नेछ। ठेकेदारले तोकेको भन्दा फरक रकम लिएको रसिद भेट्टाएपछि अहिले पार्किङ शुल्क बारे चौतर्फी आलोचना भइरहेको छ।

स्थानीय रोशन प्रसाईँले फेसबुकमा लेखेका छन्, ‘लुट्ने नि सीमा हुन्छ नि, सिँधै डबल। त्यो फाल्टु ५० चाहिँ कुन कोषमा जाने हो कोनि रु स्थानीय सरकार के भन्छ को नि ?’ यो त एउटा स्थानीयले पोखेको आक्रोशको नमुना हो।
पार्किङ शुल्कको नाममा ठेकेदारले लुट मच्चाउँदा समेत स्थानीय सरकार मौन देखिएको मेलामा गएका भक्तजनहरुको गुनासो छ। नगरपालिकाले १० लाख रुपैयाँमा नघट्ने गरी सूचना प्रकाशित गरेपनि भ्याटसहित अनुमानित २४ लाख रुपैयाँमा छाया भरत कन्स्ट्रक्सन प्रालिले मेलाको ठेक्का लिएको कनकाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए। पालिकाले तोकिएको दररेटभन्दा बढी रकम लिएमा कम्पनीलाई कारबाही गरिने उनले बताए। कारबाही गर्ने विभाग फरक भएकोले कस्तो कारबाही हुन्छ भन्ने विषयमा ज्ञान नभएको उनको भनाई छ।
त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मेलामा बढी रकम असुलेको बारेमा नगरपालिकासँग जानकारी लिने बताए। ‘नगरपालिकाले तोकिएको दररेटभन्दा बढी रकम लिनु गलत हो,’ उनले भने।

माघे सङ्क्रान्तिका दिन पूर्वको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा हरेक वर्ष माई मेला लाग्छ। यस वर्षपनि मेलामा भक्तजनहरूको घुइँचो लागेको थियो। सोमबार बिहानैदेखि कनकाई नदी किनारमा पूजापाठ गर्ने भक्तजनहरूको भीड लागेको थियो। मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ। त्यसैले कनकाई नदीमा नुहाएर पूजा अर्चना गरे चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। माई मेलामा झापासहित मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरू आएको जनाइएको छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया