Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

फिदिम, ७ पुस २०८० । पाँचथरको फिदिममा शनिबारदेखि चासोक मेला सुरु भएको छ। मेला हरेक वर्ष उधौली पर्वका अवसरमा लाग्ने गर्छ।

किराँत संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले लगाइने मेलामा पाँचथरसहित कोशी प्रदेशमा बाहुल्य रहेका जातजातिका संस्कृति झल्किने गर्छ। १० दिनसम्म लाग्ने मेलाको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वेले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्य राख्दै आङदेम्बेले सबै जातजातीका संस्कार संस्कृति जगेर्ना गर्न यस्ता मेला र महोत्सवले टेवा पुग्ने बताउनुभयो।

उद्घाटन समारोहमा लिम्बू राई र विभिन्न जातीका संस्कृतिमा आधारित झाँकी सहितका नृत्य प्रस्तुत गरिएको छ। पुस १७ सम्म लाग्ने मेलामा विभिन्न जातीका झाँकीको प्रतियोगितात्मक नृत्यसँगै रैथाने उत्पादनको प्रवर्द्धन गरिने फिदिम-४ का वडाध्यक्ष उपेन्द्र लावतीले बताउनुभयो।

मेला फिदिम नगरपालिका-४ को सुम्हात्लुङ मन्दिर क्षेत्रमा लाग्ने गर्छ। किराँत जातीको मौलिक पर्व चासोक तङ्नाम २०८० को अवसरमा मेलाको आयोजना गरिएको हो।

मेलाको अवसर पारेर आइतबार छैठौ सुम्हालुङ मिनि म्याराथन प्रतियोगिता, सोमबार सांस्कृतिक कार्यक्रम र मंगलबार चासोक पूजा गर्ने आयोजकको तयारी छ। पुस १५ गते बृहत सांस्कृतिक कार्यक्रम र १६ गते समापन कार्यक्रम गर्ने कार्यक्रम तयार गरिएको आयोजक सुम्जिरि सुम्हात्लुङ आम्वेपःप्रतिष्ठानले जनाएको छ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया