Online Bichar
बिहिबार, कार्तिक २७, २०८३ | Thursday, November 12, 2026

झापा, २५ मंसिर २०८० । बचतकर्ताको लाखौँ रकम नतिरी झापाको दमक-६ मा सञ्चालित नवरंग बचत तथा ऋण सहकारी संस्था बन्द भएको छ ।  सो संस्थाले बचतकर्ताहरूलाई फिर्ता दिनु पर्ने रकम फिर्ता नगरी एकाएक यसपालीको दसैँ अघिदेखि नै कार्यालय बन्द गरेको हो ।

‘संस्थाको कार्यालय बन्द छ, यहाँ आउने बचतकर्ता आएर माथिल्लो तलासम्म पुग्दै फर्किन्छन् , अफिसको फोन उठ्दैन, सर्वसाधारण बचतकर्ताहरूले संस्थाका कर्मचारी र सञ्चालकहरूसँग सम्पर्क गर्ने अरू कुनै माध्यम पनि छैन’ थाना रोडमा रहेको सो संस्थाको कार्यालय छेवैका एक जना व्यवसायीले भने । सो संस्थामा आफ्नो बचत रकम फिर्ताको लागि कार्यालय समयमा पटक-पटक गएपनि कार्यालय बन्द रहेको देखेपछि आफू आश्चर्यमा परेको बचतकर्ता चेसुङ लिम्बूले बताइन । बचतकर्ताहरूको रकम फिर्ता नदिई उल्टै बचतकर्ताहरूमाथि सहकारीका सञ्चालक समिति र जिम्मेवार कर्मचारीहरूले गैरजिम्मेवार पूर्ण जवाफ दिने गरेको बचतकर्ताहरूको भनाई छ ।

कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय सुनसरीका रजिस्टार हरिबहादुर खत्रीले सो सहकारी संस्था बन्द रहेको भन्ने सूचना पाएर आफूहरू पटक-पटक कार्यालय खोल्ने प्रयासमा लागेको तर संस्थाका सञ्चालकहरू नै पत्ता नलागेको बताए । खत्रीले भने,‘पहिलाका सञ्चालकहरूले अर्कैलाई जिम्मा दिएको भनेका छन् तर, आधिकारिक रुपमा हाम्रो कार्यालयमा त्यो सहकारी दर्ता हुँदाका बखतको बाहेक कुनै कागजात र तथ्याङ्कहरू पठाएका छैनन् , योसँग सम्बन्धित मानिसहरू फरार छन् । घरधनी र संस्थाका संस्थापक सञ्चालक, कर्मचारीहरूसँग सम्पर्क गरेर त्यसको तथ्याङ्क जुटाउने काम भइरहेको छ ।’

उनले सो सहकारीबाट पीडितहरूले सोझै प्रहरी कार्यालय वा सहकारी रजिस्ट्रारको कार्यालयमा आएर प्रमाणसहित उजुरी दर्ता गराउन सक्ने बताए । ‘हामी उजुरीका आधारमा मुद्दा दर्ताका लागि सिफारिस गर्छौ’ खत्रीले भने । उनले कार्यालय बन्द रहेका कारण सो संस्थामा के कति बचतकर्ताको रकम थियो ? भन्ने यकिन हुन नसकेकाले चाँडै कार्यालय खोलेर आवश्यक प्रक्रिया अघि बढाइने बताए । दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँका अनुसार सो सहकारीले अन्य पालिकामा समेत कारोबार गर्ने अनुमति लिएको कारण यसको दमक नगरपालिकाको नियमन क्षेत्र भन्दा बाहिर रहेको छ । ‘बेला बेला अनौपचारिक रुपमा नवरंगको विषयमा कुरा आएको हो तर हाम्रो क्षेत्राधिकार भन्दा बाहिरको विषय हो’ चम्लागाइँले भने ।

सो सहकारीमा सर्वसाधारणको के कति बचत रकम थियो? भन्ने सम्म थाहा हुन सकेको छैन । यो सहकारी संस्था आर्थिक वर्ष २०६९–०७० मा डिभिजन सहकारी कार्यालय चन्द्रगढी झापामा दर्ता भएको रेकर्ड छ । यसले इलाका प्रहरी कार्यालय दमकको सय मिटर दुरीमा रहेको एउटा निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

यसअघि दमकको नारायणी बचत तथा ऋण सहकारी संस्था, स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था र त्यसअघि दमकमै गरिबी नामक सहकारी संस्थाका नाममा बचतकर्ताहरूको करोडौँ रुपैयाँ रकम हिनामिना भएको तथ्यहरू बाहिर आइसकेका छन । यीमध्ये स्वर्गपुरी सहकारी संस्था र हाल बन्द रहेको नवरंग बचत तथा ऋण सहकारी संस्थाका नाममा वित्तीय ठगी धन्दा गर्ने गिरोह एकापसमा सम्बन्धित रहेको कतिपय जानकारहरूले बताउँदै आएका छन् ।

त्यसैगरी दमक-६ स्थित सब्जी बजार कृषि सहकारी संस्था पनि अघोषित रुपमा केही महिनादेखि बन्द अवस्थामा रहेको छ ।टाईम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया