झापा, १८ असार २०८० । आज तिनाउ नदीको सतह खतरा तह भन्दा माथि रहने छ । रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी(ब.सु.प) भई बहने केही साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरिएकोले ससाना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । देशका अन्य नदीहरुको बहाव बढ्ने तर सतर्कता भन्दा तलै रहने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिनको बाढी पूर्वानुमान गर्दै आज नवलपरासी(ब.सु.प), पाल्पा, रुपन्देही, नवलपरासी(व.सु.पू), झापा, मोरंग, सिन्धुपाल्चोक, काठ्माडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । पाँचथर, संखुवासभा, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर, रसुवा, दोलखा, बाग्लुङ, पर्वत, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज बिहान गरिएको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
यस्तै, भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ । असार २१ गते बिहिबार कोशी, र सुदूरपश्चिम प्रदेशको तराई भू-भाग भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।