Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी, १७ जेठ २०८० । सुडानको सेनाले सशस्त्र समुहहरुसँग वार्ताका लागि गरेको युद्धविराम भंग भएको जनाएको छ ।

एक साताका लागि गरिएको युद्धविराम पाँच दिनमै भंग भएको सुडानी सेनाले जनाएको हो । सोमबार दुबै पक्षबीच एक साता म्याद थप गरेर भएपनि वार्ता टुंगोमा पुर्‍याउने सहमति भएको थियो ।

सशस्त्र विद्रोहीको आन्दोलनका कारण हजारौं सर्वसाधारण विस्थापित भएको भन्दै सेनाले वार्ता भंग गरेको समाचारमा जनाइएको छ । विद्रोहीको डर र धम्कीका कारण सर्वसाधारण विस्थापित हुनबाट रोक्न पनि युद्धविराम भंग गरेर कारवाही अघि बढाउनुपरेको सेनाका अधिकारीहरुले जनाएका छन् ।

विद्रोहीले सेनासँग साउदी अरबको एक बन्दरगाहमा वार्ता जारी रहेकै बेला युद्धविराम उल्लंघन गरेर सर्वसाधारणमा त्रास फैलाएको सरकारी अधिकारीहरुको आरोप छ । सो क्रममा सुडानको राजधानी खार्तूममा झडपहरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युद्धविरामको मध्यस्थता गरिरहेका साउदी अरेबिया र अमेरिकालागायतले भने विद्रोही र सरकारी दुबै पक्षले युद्धविराम उल्लंघन गरेको दाबी गरेका छन् । उनीहरुले दुबै पक्षले युद्धविराम भंग गरेपनि मानविय सहायताका कार्यक्रमहरु सञ्चालन गरेको बताएका छन् ।

सुडानमा जारी गृहयुद्धका कारण करिब १५ लाख सर्वसाधारण विस्थापित भएका छन् । तीमध्ये साढे ३ लाख मानिस छिमेकी मुलुकहरुमा पुगेको समाचारमा उल्लेख गरिएको छ । गृहयुद्धका कारण राजधनी लगायत विभिन्न शहरमा लुटपाट, आगजनी, विद्युत र खानेपानीलगायत आपूर्तिमा समस्या भएको छ ।

अधिकांश अस्पतालका सेवाहरु पनि ठप्प भएका छन् । सन् २०१९ मा भएको राजनीति कू पछि सुडानमा गृहयुद्ध जारी छ ।

तपाईको प्रतिक्रिया