Online Bichar
शुक्रबार, आश्विन १८, २०८१ | Friday, October 4, 2024

एजेन्सी, १९ वैशाख २०८० । संयुक्त राष्ट्रसंघले सुडानबाट आठ लाख बढी मानिस पलायन हुने प्रक्षेपण गरेको छ ।

सरकारी सेना र विपक्षी र्‍यापिड सपोर्ट फोर्सबीचको संघर्षका कारण केही दिन यता दैनिक हजारौं सुडानीहरु देश छाडेर छिमेकी देशहरुमा गईरहेका छन् ।

बन्दरगाहा र नाकाहरुमा थामिनसक्नु भिड लागेको छ । राष्ट्रसंघीय शरणार्थी एजेञ्सी युएनएचसीआरले सुडानी र सुडानमा बस्दै आएका शरणार्थी गरी आठ लाख बढीले सुडान छाड्ने अनुमान गरेको हो ।

युएनएचसीआरका प्रतिनिधि राउफ माजुले ७३ हजारले सुडान छाडिसकेको आँकडा आफूहरुसँग रहेको बताउनुभयो । सुडानबाट भागेका वा भाग्ने तयारी गरेका मध्ये पाँच लाख ८० हजार सुडानी रहेको र बाँकी विभिन्न देशका शरणार्थीहरु रहेको पनि उहाँले बताउनुभयो ।

गत अप्रिल यता राजधानी खार्तुम र अन्य शहरहरुमा चर्किएको संघर्षका कारण अहिलेसम्म सयौंको मृत्यु भईसकेको छ भने हजारौं घाइते भएका छन् । युद्धका कारण घरभित्रै थुनिएका वा सुरक्षित हुन घर छाडेर भागेका लाखौं सुडानीहरु भोकभोकै बस्न बाध्य भएको पनि युएनएचसीआरले जनाएको छ ।

राष्ट्रसंघका विभिन्न एजेन्सीहरुले विश्व समुदायले तत्काल हस्तक्षेप नगर्ने हो भने सुडानमा ठूलो मानवीय क्षति हुने र त्यो विश्वकै लागि लज्जापूर्ण हुने चेतावनी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया