Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

सुनसरी, ११ चैत २०७९ । १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा चर्च ब्वाईजका मनोज राईको प्रहार बाहिरिएपछि सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, विदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोजको प्रहार आकाशिएको थियो ।

सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र विवेक बर्माको प्रहार गोलमा परिणत भएपछि सगरमाथा चम्किएको हो । नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद १० लाख हात पारेको छ । उपविजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुँनै नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए । प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए ।

सगरमाथाका देब लिम्बु बेस्ट गोलकिपर, विशाल बस्नेत बेस्ट डिफेण्डर, स्टेफिन बिनोंग बेस्ट फरवार्ड र याम गुरुङ बेस्ट कोच घोषित भए । चर्च ब्वाइजका मौसम लिम्बु बेस्ट मिडफिल्डर र म्यानअफ द फाइनल घोषित भए । उनीहरुले जनही नगद २० हजार हात पारे । विजेता तथा उपविजेतालाई एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई र इटहरी उपमहानगरका जनप्रतिनिधिहरुले पुरस्कार वितरण गरे । चैत्र ४ गते सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता थियो ।

 

तपाईको प्रतिक्रिया