Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, ११ चैत २०७९ । अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । मिसिसिपीस्थित आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार अरु दर्जनौं मानिस घाइते भएका छन् । साथै चार जना मानिस हराइरहेको बताइएको छ ।

आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने आकलन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मिसिसिपीस्थित सिल्भर सिटी र रोलिङ फोर्कका ग्रामीण सहरहरूमा आँधी ११३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा आएको छ । राष्ट्रिय मौसम विभागले शुक्रबार राति एक आँधीको असर अझै नसकिएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

आँधीबाट घुम्ती घरलगायत भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको बताइएको छ । यसअघि जनवरीमा पनि अलाबामा र जर्जियामा आँधीले सात जनाको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया